एजेन्सी / पूर्वी प्रजातान्त्रिक गणतन्त्र मुलुक कङ्गोमा हालसालै भएको द्वन्द्वमा बालबालिकासहित कम्तीमा ३१ जनाको मृत्यु भएको छ । कङ्गोली सेना र धेरै विद्रोही समूहहरू बीचको भएको तीव्र झडपका क्रममा उनीहरूको मृत्यु भएको संयुक्त राष्ट्र संघले जनाएको छ । बेनी क्षेत्रमा भएको दोहोरो झडपका क्रममा बुधबार मात्र पाँच जनाको शव फेला परेको छ भने दर्जनौं मानिस अझै बेपत्ता भएकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बीबीसीले जनाएको छ ।

यो वर्षको सुरुदेखि इटुरी र उत्तरी किभु प्रान्तका ७ लाखभन्दा बढी मानिस घरबार छोडेर भागेका छन् ।
कंगोली सेनाले पूर्वी क्षेत्रमा दर्जनौं सशस्त्र विद्रोही समूहसँग लडिरहेको छ । तिनीहरूमध्ये धेरै सन् २००३ मा देशको गृहयुद्ध समाप्त भएदेखि निष्क्रिय थिए तर ती समूह हालै सक्रिय भएको समाचारमा जनाइएको छ ।