झापा / रूपन्देहीमा नाबालकलाई प्रयोग गरी सुनका सिक्री चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा नाबालक सहित ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
रूपन्देही कञ्चन गाउँपालिका- ४ बनकसियास्थित आइतबारे हाटबजारमा टमाटर किन्ने क्रममा सोही ठाउँ बस्ने ७० वर्षीया महिलाले घाँटीमा लगाएको ३ तोला ४० लाल बराबरको सुनको सिक्री २ जना नाबालकले आइतबार दिउँसो चोरी गरी भागेको घटनाको अनुसन्धान गर्ने क्रममा इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले ती नाबालकलाई कञ्चन गाउँपालिका- ४ बनकसिया डिहोमा लुकि छिपी हिँडिरहेको अवस्थामा चोरी भएको सुनको सिक्री सहित फेला पारी नियन्त्रणमा लिएको हो । थप अनुसन्धानको क्रममा उक्त कार्यमा विजयको संलग्नता रहेको खुल्न आएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धनाको क्रममा विजयले करिब एक महिना अघि पर्सा जिल्लाको आफ्नो गाउँ घरबाट दुवैजना नाबालकलाई रूपन्देही कञ्चन गाउँपालिका- ४ हर्नाचौरमा बोलाई उनीहरूलाई सुनको सिक्री कसरी चोर्ने र कसरी भाग्ने भनी सिकाइ बजारमा भिडभाड भएको ठाउँमा लगी बालबालिकालाई प्रयोग गरी चोरी गर्ने गराउने गरेको खुल्न आएको छ ।
उनीहरू उपर चोरी सम्बन्धी कसूरमा म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।