बिर्तामोड / सुनसरीको र उदयपुरको दुई छुट्टाछुट्टै स्थानमा बुधवार भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । बुधवार बेलुका साँढे ७ बजेको समयमा सुनसरीको बराहक्षेत्र नगरपालिका- ३ भरौलीमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को १ च ७७९१ नम्बरको सुमोले सोही दिशा तर्फ जाँदै गरेका साइकल यात्री बराहक्षेत्र नगरपालिका- ५ का ६० वर्षीय दुखिलाल धामीलाई ठक्कर दिँदा धामी घाईते भएका थिए ।
घाइतेलाई उपचारको लागी धरान लैजाने क्रममा बाटोमा नै मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । यसैगरी उदयपुरको कटारीबाट मैयाखु तर्फ जाँदै गरेको प्रदेश २-०१-००१ च ०२४३ नम्बरको बोलेरो कटारी नगरपालिका-४ मा आफै अनियन्त्रित भई दुर्घटना हुँदा उक्त बोलेरोमा सवार ९ जना घाईते भएका थिए ।
घाइतेहरूलाई उपचारको लागी धरानको बि पी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारको क्रममा कटारी नगरपालिका- १३ का १८ वर्षीय विष्णु राउतको मृत्यु भएको तथा अन्य घाईतेहरुको सोही अस्पताल उपचार भइरहेको छ । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय कटारीले थप अनुसन्धान गरिरहेको छ ।