बिर्तामोड / मनकामना कलेज पूर्व विद्यार्थी समाजले मिर्गौैला पीडित सविता उप्रेतीलाई उपचारका लागी सहयोग रकम हस्तान्तरण गरेको छ । कलेजमा आज एक कार्यक्रमको आयोजना गरि सविताका दाजु हिमाल उप्रेतीलाई १ लाख ६४ हजार रुपैयाँ सहयोग प्रदान गरेको हो ।
मनकामना कलेज पूर्व विद्यार्थी समाजका अध्यक्ष प्रकाश फुँयालको अध्यक्षतामा भएको कार्यक्रममा कलेजका प्रमुख प्रेम भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो । मनकामना कलेज पूर्व विद्यार्थी समाजको नेतृत्वमा सञ्चालन भएको सहयोग रकम संकलन कार्यक्रममा नेपाल बाहिरका बिभिन्न मुलुकबाट पनि रकम संकलन भएको कलेजका एकेडेमिक कोअर्डिनेटर तथा मनकामना कलेज पूर्व विद्यार्थी समाजका सल्लाहकार कुमार थपलियाले बताए । थपलियाले मिर्गौैला पीडित सबिताको उपचारका लागि रकम संकलन हुने क्रम जारी रहेको र आवश्यक पहल गरिरहेको बताए ।
मिर्गौैला पीडित सविता उप्रेती कलेजकी पूर्व विद्यार्थी समेत हुन् । कार्यक्रममा बोल्दै कयाम्पस प्रमुख भटटराईले सबिताको उपचारका लागी कलेज परिवारबाट सक्दो सहयोग गर्ने बताएका छन् । यस्तै पीडित परिवारका सदस्यको तर्फबाट बोल्दै सबिताका दाजुले बहिनीको उपचारमा रकम संकलन गरि सहयोग गर्ने मनकामना कलेज पूर्व विद्यार्थी समाज परिवार , शिक्षक , विद्यार्थी , विदेशमा रहेका नेपालीलाई धन्यबाद व्यक्त गरेका छन् ।
बिर्तामोड - २ मा बसोबास गर्दै आएको उप्रेती परिवारमा ६ जना सदस्य मध्ये ४ जना मिर्गौैला पीडितका बिरामी रहेको कार्यक्रम सञ्चालक मुकुन्द उप्रेतीले बताएका छन् ।