बिर्तामोड / झापाको अर्जुनधारा नगरपालिका –६ स्थित शनिश्चरे–बिर्तामोड सडक खण्ड अन्तर्गत कप्तानबारीमा एक युवक मृत फेला परेका छन् ।
पाँचथरको फिदिम नगरपालिका –५ निवासी २५ वर्षीय कुमार खनाल कप्तानबारीमा नजिकमा रहेको कल्भर्टमा शनिवार बिहान मृत फेला परेका हुन ।
उनको साथमा नागरिकताको प्रमाण पत्र फेला परेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । प्रहरीका अनुसार नागरिकतामा खनालको ठेगाना पाँचथरको फिदिम भए पनि उनी हाल झापाको बुद्धशान्ति –२ मा बसोबास गर्दै आएका थिए ।
शव नजिकै उनले चलाउँदै आएको बा ४२ प १२८ नम्बरको मोटरसाइकल पनि फेला परेको प्रहरीले जनाएको छ । उनको मोटरसाइकल दुर्घटनाबाट मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
मृतकको अनुहारमा चोट रहेको छ । उनी दुर्घटनापछि सडकसम्म आएको अनुमान गरिएको छ । उनलाई घोप्टो परेको अवस्थामा फेला पारिएको थियो ।
मृतकको पहिचानपछि मुचुल्का बनाएर शवको पोस्टमार्टमका लागि मेची अस्पताल भद्रपुर पठाइएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक रुगम बहादुर कुँवरले जानकारी दिए ।
डीएसपी कुँवरका अनुसार दुर्घटना र मृत्युको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।