रौतहट / रौतहटबाट चार वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईशनाथ नगरपालिका –७ का २४ वर्षीय महमद अबिर हुसेन रहेका छन् ।
बालिका बिहीबार साँझ घर बाहिर खेल्दै गर्दा हराएकी थिइन् । बालिका हराएको केही समयपछि एक अपरिचित ब्यक्तिले पीडितका आफन्तलाई फोन गरी बालिकालाई अपहरण गरी बन्धक बनाई राखेका र २० लाख रुपैयाँ राजपुर नगरपालिकाको ईद्रिश गेटमा लिएर आउनु भन्दै फोन आएको बताइएको छ ।
अपहरणकारीले रकम नल्याएमा र फिरौती मागेको कुरा कसैलाई भनेमा बच्चाको ज्यान मार्ने धम्की दिएका थिए ।
बालिका अपहरण परेको थाहा पाएलगत्तै बालिकाका परिवारले जिल्ला प्रहरी कार्यालय रौतहटमा खबर गरेका थिए । सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा राजपुर नगरपालिका –१ बहुअर्वा मदर्सा अगाडि सडक छेउमा रहेको पसल नजिकबाट ती बालिकाको उद्धार गरेको थियो ।
साथै प्रहरी टोलीले उक्त कार्यमा संलग्न हुसेनलाई घटनामा प्रयोग गरेको बी आर ०५ एएफ ०२८२८ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो ।