एजेन्सी / श्रीलङ्कामा राष्ट्रपति गोटाबय राजापाक्षेको निवासमा प्रदर्शनकारीहरू प्रवेश गरे पछि राष्ट्रपति आफ्नो निवास छोडेर टाप कसेका छन् । उनलाई सुरक्षित ठाउँमा सारिएको जनाइएको छ । आर्थिक संकट बढेर चरम भोकमरी र अस्तव्यस्तको अवस्था आएपछि राजधानी कोलम्बोमा ठूलो भीड जम्मा भएको छ ।

उक्त ठूलो भीडलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको समाचार विवरणहरूमा जनाइएको छ । केही वर्षयता आर्थिक अभाव झेल्दै आएको श्रीलङ्काले अहिले खाद्यान्न, इन्धन र औषधि लगायत अत्यावश्यक वस्तुकै अभावको सामना गरिरहेको छ ।

OM Sai Pathibhara Hospital

प्रदर्शनकारीहरू दिनदिनै उग्र हुँदै गएका छन् । यसै क्रममा शनिबार प्रहरीको घेरा र अवरोधहरू तोडेर प्रदर्शनकारीहरू राष्ट्रपति गोटाबयको सरकारी निवासमा प्रवेश गरेका हुन् । केही प्रदर्शनकारीहरू राष्ट्रपति भवनको पर्खालमा चढेर भित्र प्रवेश गरेका थिए । उनीहरूले राष्ट्रपतिको राजीनामा माग गरिरहेका छन् । सुरक्षा चुनौती बढेपछि हजारौँ प्रहरी र सैनिकहरू परिचालन गरिएका छन् । अहिले  श्रीलङ्काको पश्चिमी क्षेत्रमा अनिश्चितकाल लागी कर्फ्यु जारी गरिएको छ ।