झापा / डडेल्धुराको आलिताल गाउँपालिका -३ मा रहेको तुङ्गा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षले २२ लाख रुपैयाँ भ्रष्टाचार गरेको  आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्वजित् मडै रहेको प्रहरीले जनाएको छ । शुक्रबार अध्यक्ष मडैसँगै सामुदायिक वन उपभोक्ता समितिका कागजपत्र नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय डडेल्धुराका डिभिजनल अधिकृत रामविचारी ठाकुरले जानकारी दिए ।

‘अनुसन्धान गरिरहेका छौं, मडैले २२ लाख रुपैयाँ खाएको स्वीकार गरिसके । हाम्रो टोली खटिएको छ,’ उनले भने । बिहीबार राति धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताले अध्यक्ष मडैलाई भ्रष्टाचारको आरोपमा कालोमोसो दलेका थिए । उनले कृते कागज गरी सामुदायिक वन उपभोक्ता समिति र सव डिभिजन वन कार्यालय आलिताललाई छलेर सामुदायिक वनको खातामा रहेको २२ लाख रुपैयाँ खाएका थिए ।