काठमाडौँ / बलात्कार मुद्दामा हद म्याद बढाउन सहमति जुटेको छ । सांसदको कानुन, न्याय तथा मानवअधिकार समितिले बालिगको हकमा एक वर्ष र नाबालिगको हकमा २ वर्ष हदम्याद बढाउन सहमति जुटाएको हो ।

यौन हिंसा विरुद्धका केही ऐन संसोधन गर्न बनेको विधेयकको मस्यौदामाथिको छलफलमा हद म्याद बढाउने सहमति जुटेको समितिका सभापति कृष्णभक्त पोखरेलले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

सहमति अनुसार अब कुनै पनि बलात्कारमा परेका नाबालिगले बालिग भएको (१८ वर्ष पूरा भएको) ३ वर्षपछि अर्थात २१ वर्षको उमेर हुँदासम्म उजुरी गर्नु पर्ने छ भने बालिगको हकमा भने घटना भएको दुई वर्ष भित्र उजुरी गर्नु पर्ने छ । 

थुनामा रहेको वा अपहरणमा रहेको अवस्थामा बलात्कारमा परेको भए थुनामुक्त वा अपहरणमुक्त भएको दुई वर्ष ३ महिना भित्र उजुरी गरिसक्नुपर्ने व्यवस्था गरिएको छ ।उनीहरूको हकमा तीन महिना औषधि उपचार गर्नका लागि समय दिइएको हो ।

यसैगरी अपाङ्गता, जेष्ठ नागरिक र सुस्त मनस्थिति भएका व्यक्तिले भने घटना भएको ३ वर्ष भित्र उजुरी गरिसक्नुपर्ने व्यवस्था गरिएको समितिले जनाएको छ ।

महिला अधिकारकर्मीले भने बलात्कार मुद्दामा हद म्याद हटाउनु पर्ने माग गर्दै आएका छन् ।