झापा / सशस्त्र प्रहरी बल, नेपालको नियमावली दोस्रो संशोधन स्वीकृत भएको छ ।
२१ असारमा बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी नियमावली दोस्रो संशोधन २०७९ मा राखिएका अन्य नियम संशोधन हाललाई थाती राख्दै नियम ४० को संशोधन स्वीकृत गरेको हो ।
यसअघि सशस्त्र प्रहरीमा बढुवा प्रावधानका लागि सशस्त्र प्रहरी उपरीक्षक (एसपी) पदबाट वरिष्ठ उपरीक्षक (एसएसपी) हुनका लागि चारवर्ष सेवा अवधि पूरा गरेको हुनुपर्थ्यो । तर, नियमावली संशोधन भएलगत्तै एसपीबाट एसएसपीमा बढुवा हुन अब तीन वर्ष मात्रै सेवा अवधि पूरा गरे पुग्छ ।
यो नियमावली संशोधन भएसँगै १ चैत ०६९ मा सशस्त्र प्रहरी निरीक्षकमा भर्ना भएका अधिकृतहरूलाई फाइदा पुगेको छ । यस ब्याचका प्रहरी अधिकृत १५ चैत ०७५ मा डिएसपीबाट एसपीमा बढुवा भएका थिए ।
गृह मन्त्रालयले प्रहरी नियमावली २०७१ का १० र सशस्त्र प्रहरी नियमावली २०७२ का १५ प्रावधान संशोधन गर्न तयार गरेको मस्यौदा सैद्धान्तिक सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको थियो ।
गृहले सशस्त्र प्रहरीको अवकाश अवधि पनि संशोधन गर्न लागेको छ । संशोधित नयाँ प्रावधन अनुसार २६ चैत ०६० पछि सेवा सुरु गरेका सशस्त्र प्रहरी जवान र सशस्त्र वरिष्ठ प्रहरी हवल्दार १६ वर्ष सेवा अवधि पूरा गरे अवकाशमा जान सक्नेछन । यसअघि अवकाश हुन उनीहरूले २० वर्ष सेवा अवधि पूरा गरेकै हुनुपर्थ्यो ।
त्यस्तै, सशस्त्र प्रहरी सहायक निरीक्षकदेखि सशस्त्र प्रहरी वरिष्ठ नायब निरीक्षकसम्मको जुनियर अधिकृतको अवकाश अवधि १८ वर्ष तोकिएको छ । प्रहरी निरीक्षकभन्दा माथिका अधिकृतको अवकाश अवधि भने २० वर्ष नै कायम गरिएको छ ।
गृहका अनुसार नेपाल प्रहरीको अवकाश अवधि पनि सशस्त्र प्रहरीकै सरह संशोधन गर्न लागिएको छ । संशोधित नयाँ प्रावधानअनुसार २६ चैत ०६० यता सेवा सुरु गरेका प्रहरी जवानदेखि प्रहरी वरिष्ठ हवल्दारसम्मका सुरक्षाकर्मी १६ वर्षमै अवकाशमा जान सक्नेछन् ।






































