काठमाडौं / वैदेशिक रोजगारका लागी न्युजिल्याण्ड पठाइदिने भन्दै ९ जनाबाट ६३ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका- ७ घर भई बुढानीलकण्ठ नगरपालिका–३ घुम्तीमा बस्दै आएकी २७ वर्षकी शोभा पौडेल रहेको प्रहरीले जनाएको छ ।

पौडेलले सिन्धुलीको दुधौली नगरपालिका- १ का नारायण बोगटीसहित ९ जनाबाट ६३ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको प्रहरीको भनाइ छ ।
न्युजिल्याण्ड जान १२ लाख ५० हजार रुपैयाँ लाग्ने, त्यहाँ कृषि कम्पनीमा फलफूल टिप्ने काम लगाइदिने र मासिक तलब एक लाख ७० हजार रुपैयाँसम्म हुने भन्दै उनले ६३ लाख रुपैयाँ रकम लिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एसपी दिनेशकुमार आचार्यले जानकारी दिए ।

रकम लिएर सम्पर्कविहीन भएपछि वैदेशिक रोजगार विभागले पौडेललाई पक्राउ गरी उपस्थित गराइदिन पत्राचार गरेको थियो । त्यसपछि प्रहरीले मंगलबार साँझ ५ बजे पौडेललाई कपनबाट पक्राउ गरेको हो ।

OM Sai Pathibhara Hospital