काठमाडाैँ / बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा प्रवेश गराएको भन्दै अर्थमन्त्री विवादमा तानिए पछि अर्थसचिव मधुकुमार मरासिनी बिदामा बसेका छन्  । श्रोतका अनुसार उनी आजैदेखि लागू हुने गरी अनिश्चितकालका लागि बिदामा बसेका हुन् । 

बुधबार बिहान मरासिनीले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र मुख्यसचिव शंकरदास वैरागीलाई भेटेर बिदामा बस्ने जानकारी दिएका छन् ।

OM Sai Pathibhara Hospital

अर्थमन्त्री शर्माले पदबाट राजीनामा नदिएसम्म आफू मन्त्रालय नफर्किने पनि उनले बताएको स्रोतको दाबी छ । तर अर्थमन्त्री शर्माको सचिवालयले भने मरासिनी व्यक्तिगत कामले दुई दिन बिदामा बसेको बतायो । 

बजेट प्रस्तुत गर्नु अघिल्लो रात (गत १४ जेठ) मा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराई करका दर हेरफेर गरेर बजेट निर्माण गरेको विषयमा अर्थमन्त्री शर्माको निरन्तर आलोचना भइरहेको छ । 

करको दर हेरफेर गर्न राजस्व प्रशासनका पूर्वकर्मचारी रघुनाथ घिमिरेलाई मन्त्री शर्माले मन्त्रालयमा प्रवेश गराएको आरोप छ ।

त्यससँग सम्बन्धित प्रमाण (सीसीटीभी फुटेज) नै नष्ट भइसकेको सूचना अर्थ मन्त्रालयको योजना, अनुगमन तथा मूल्यांकन महाशाखाबाटै आइतबार आएपछि शर्मा माथि आफैँ प्रमाण मेटाउनतिर लागेको थप आरोप लागेको छ ।