अछाम / अछामको पञ्चदेवल विनायक नगरपालिका –४ का १६ वर्षीय विनोद शाहीको हत्या आरोपमा पक्राउ परेकी मेयर अम्बिका चलाउनेसहित तीनजना माथि मुद्दा नचल्ने भएको छ।
पञ्चदेवल विनायक नगरपालिकाकी मेयर चलाउनेसहित नेत्रबहादुर शाही र रामबहादुर शाही माथि किटानी जाहेरी परेको थियो । तर, उनीहरूलाई मुद्दा चलाउन कुनै पनि प्रमाण नभएको भन्दै सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने भएको हो ।
प्रहरीले बुझाएको प्रतिवेदनमा उक्त घटना भएको समयमा मेयर चलाउने धनगढी, नेत्रबहादुर शाही काठमाडौँ र रामबहादुर मंगलसेनमा भएको उल्लेख छ । उनीहरू घटनामा संलग्न भएको कुनै प्रमाण नपाएको प्रतिवेदन पाएपछि सरकारी कार्यालयले मुद्दा नचल्ने निर्णय गरेको छ।
तीनै जनाविरुद्ध मुलुकी अपराधसंहिता २०७४ को दफा ३१ अनुसार प्रमाण नपुगेको सरकारी वकिल कौशल ढुङ्गानाले जानकारी दिइन्।
शाही गत १७ जेठमा सम्पर्कविहीन भएका थिए । चार दिनपछि घर नजिकै जङ्गलको भीरमा उनको शव फेला परेको थियो।