काठमाडौँ /  रामेछापको सुनापति गाउँपालिका -५ लुभुघाटमा भएको बस दुर्घटनाका घाइते मध्ये थप चार जनाको धुलिखेल अस्पतालमा मृत्यु भएको छ । योसँगै बस दुर्घटनामा हालसम्म मृत्यु हुनेको संख्या १३ जना पुगेको छ ।

उपचारका लागि धुलिखेल अस्पताल ल्याएका २४ जनामध्ये ४ जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

खतिवडाका अनुसार मृत्यु हुनेमा सुनापति –५ का ३४ वर्षीय खड्कबहादुर विक र अन्य दुई जना पुरुष र एक जना महिला रहेका छन् । 

मंगलबार बिहान हिलेदेवीबाट काठमाडौं जाँदै गरेको बा.३ ख ८३९६ नम्बरको अरनिको यातायातको बस सडकबाट करिब तीन सय मिटर तल खस्दा दुर्घटना भएको थियो । 

नौ जनाको भने घटनास्थलमै मृत्यु भएको थियो । घटनास्थलमा मृत्यु हुनेमा रामेछापको सुनापति –५ का ६० वर्षीय ठूला तामाङ, २२ वर्षीय विपना तामाङ, ३६ वर्षीय सञ्जु आले मगर, ३६ वर्षीय खडक बहादुर बिक, सुनापति –४ की २६ वर्षीया समरिता तामाङ, काभ्रेको रोसीका नगरपालिकाका २५ वर्षीय कमल तामाङ, पाँचखाल नगरपालिका –८ का १८ वर्षीय सुदीप गजमेर, मण्डन देउपुर गाउँपालिका –९ की ६० वर्षीय सुभलक्ष्मी मानन्धर र पाँचखाल नगरपालिकाका कुलबहादुर बिक रहेका छन् ।