बिर्तामोड / झापाको अर्जुनधाराबाट भारतीय नागरिक जापाडिया नरेश कुमार बाबुको हत्याको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका वडा नम्बर –७ डाँडागाउँकी ३२ वर्षीया जानुका सुवेदी (थापा), सोही ठाउँका विनय भन्ने बृख बहादुर थापा र सुनसरीको बराह क्षेत्र नगरपालिका –१० का २५ वर्षीय सुरेश परियार रहेका छन् । घटनामा संलग्न एकजना फरार रहेको प्रहरीले जनाएको छ । 

OM Sai Pathibhara Hospital

गत असार –६ गते साँझ ६ बजे झापाको अर्जुनधारा नगरपालिका –४ स्थित जुकेखाडी–साहसी टोल भित्री कच्ची सडकमा रहेको कल्भर्ट मुनी बोरामा बाँधेको अवस्थामा नरेश कुमारको शब फेला परेको थियो । बोराबाट गन्ध आइरहेको थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खोजतलास गर्दा उनी भारतीय नागरिक भएको पुष्टि भएको थियो । 

प्रहरीले भारतीय नागरिक नरेश कुमारको हत्यामा संलग्न रहेका उनीलाई शनिबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । उनीहरूको साथबाट प्रहरीले प्रदेश नं. १–०१–०१२व ८१५० नम्बरको मोटरसाइकल, मार्तोल, फरुवा, खुकुरी र तीन थान मोबाइल बरामद गरेको छ ।

हत्याको प्रमुख कारण जानुका र नरेश कुमारको सम्बन्ध रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको झापाका प्रहरी उपरीक्षक (एसपी) विश्वमणि पोखरेलले जानकारी दिए ।

घटना अनुसार २०७६ सालमा जानुका रोजगारको सिलसिलामा भारतको नयाँ दिल्ली गएकी थिइन् । त्यहाँ २ महिना बसेपछि उनी गुजरात गइन् । त्यहाँ लगभग दुई महिनाको बसाइमा उनीसँग मृतक नरेश कुमारको परिचय भएको पाइएको छ । 

सोही सालको चैत्रमा मृतक नरेश कुमारले जानुकाको छोरा छोरीका लागि खेलौना तथा लत्ताकपडाहरू समेत ल्याइदिएको पाइएको छ । व्यवसायको क्रममा मृतक पटक–पटक मोरङको विराटनगर आउने गरेको बयानका क्रममा अभियुक्त जानुकाले बताएकी छिन् । 

मृतकले सोही समयमा जानुकालाई घर निर्माणको लागि भन्दै ५ लाख रुपैयाँ पनि उपलब्ध गराएको पाइएको छ । 

प्रहरीका अनुसार २०७९ साल बैशाखमा मृतकले जानुकालाई दिन ल्याउँदै गर्दा ५९ हजार भारतीय रुपैयाँसहित पक्राउ परेका थिए । विराटनगरमा पक्राउ परेका उनी धरौटी बुझाएर तारेखमा रिहा भएका थिए । 

मृतक नरेश कुमारले उक्त मुद्दाको तारेखमा आउँदा जानुकाको घरमा बस्ने गरेको समेत एसपी पोखरेलले बताए । जेठ महिनामा उनको घरमा बस्दा जानुका माथि दुर्व्यवहार गरेपछि जानुका र उनका श्रीमान बिनयले नरेश कुमारलाई मार्ने योजना बनाएको खुलेको छ ।