रौतहट  / रौतहटको पर्यटकीय क्षेत्र नुनथर आएका दुई भारतीय पर्यटक नदीमा डुबेर बेपत्ता भएका छन् । 

वेपत्ता हुनेमा भारतको सितामाढी कोटबजार बस्ने ३० वर्षीय मयक अग्रवाल र सोही उमेरका गोलुकुमार रहेका छन् । उनीहरुसँगै नदीमा फसेका २७ वर्षीय  सुमन साहको भने उद्धार गरिएको छ ।

OM Sai Pathibhara Hospital

प्रहरीका अनुसार चन्द्रपुर नगरपालिका– १ बागमती नदी किनारमा अवस्थित पर्यटकीय क्षेत्र नुनथर घुम्न आएका उनीहरु शनिबार साँझ नदीमा पौडी खेल्ने क्रममा डुबेका थिए । 

नदीमा डुबेका पर्यटक सुमनलाई स्थानीयबासीले तत्कालै उद्धार गरेको थियो । अन्य दुई पर्यटक अझैसम्म बेपत्ता भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक सन्तु जैसवारले जानकारी दिए । 

भारतीय नम्बर प्लेट बीआर ०१ एचएफ ६६१९ नम्बरको कारमा घुम्न आएका ती पर्यटकलाई नदीमा पानीको बहाव र गहिराइको बारेमा जानकारी नहुँदा डुबेको उद्धार गरिएका पर्यटक सुमनले बताए । 

आइतबार बिहानसम्म पनि बेपत्ता पर्यटक पत्ता लाग्न नसकेको तथा उनीहरूको खोजी कार्य भइरहेको इलाका प्रहरी चन्द्रनिगाहपुरले जनाएको छ ।