विराटनगर / डर देखाएर सर्वसाधारणसँग फिरौती रकम असुल्ने दुई जनालाई मोरङ प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको छ । पक्राउ पर्नेमा पथरी शनिश्चरे ६ घर भई विराटनगर -४ मा डेरागरी बस्ने गणेशकुमार कार्की र पथरी- ६ का विशाल ऋषिदेव छन् ।

विराटनगर -३ का मुकेश शर्मालाई पथरी शनिश्चरे -६ घर भई विराटनगर - ४ कञ्चनबारीमा डेरामा बस्ने ३९ वर्षीय कार्कीले जेठ ३१ गते चिठी पठाउनुका साथै पटक-पटक फोनबाट धम्की दिएर रकम मागेपछि शर्माले असार १७ गते आइएमईमार्फत २५ हजार रुपैयाँ रकम पठाएका थिए ।

मोरङ प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार उक्त रकम पथरी शनिश्चरे -६ हसन्दहस्थित आइएमईबाट निकाल्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको हो । फिरौती केका लागि मागिएको प्रहरीले खुलाएको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।