झापा / महोत्तरीमा अख्तियारको ‘इन्स्पेक्टर हुँ’ भन्दै रकम असुलेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका- १२ घर भएका ३० वर्षीय रवि ठाकुर, लोहरपट्टी नगरपालिकाका घर भएका २९ वर्षीय प्रभास झा र २१ वर्षीय हमिद राईन रहेको प्रहरीले जनाएको छ ।

महोत्तरीको जलेश्वर नगरपालिका- १२ स्थित सीमा क्षेत्रमा नेपाल-भारत आउजाउ गर्नेहरु सँग उनीहरूले अख्तियारमा कार्यरत ‘निरीक्षक हौँ’ भनेर असुल्ने गरेको महोत्तरीका एसपी कृष्ण पङ्गेनीले बताए ।
आरोपीहरूले सीमा क्षेत्रको एउटा पसलबाट २ हजार २ सय भारतीय रुपैयाँ असुलेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । बिहीबार साँझ जलेश्वर- १२ नैन्ही गाउँस्थित सीमानाकामा पैसा लिँदै गरेको अवस्थामा प्रहरीचौकी नैन्ही र सशस्त्र प्रहरी बल, बीओपी जलेश्वरको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । आरोपहरूमाथि ठगी मुद्दामा अनुसन्धान भइरहेको एसपी पङ्गेनीले बताए ।