बिर्तामोड / लामो समयदेखि उनले बरगाछीमा एक हार्डवेयर पसल सञ्चालन गर्दै आएका विनोद ओली एक महिनादेखि सम्पर्कविहीन बनेका छन् । उनले ग्राहक र स्थानीयको करोडौँ रकम ठगेर फरार भएका हुन् । चाहिएजति सिमेन्ट, रड उपलब्ध गराउने सर्तमा ग्राहकबाट अग्रिम भुक्तानी लिएका उनले स्थानीयवासी, बैंक तथा वित्तीय संस्थाको गरी करोडौँ कुम्ल्याएर फरार भएको पाइएको छ ।
प्रहरी कार्यालय र नगरपालिकामा उनीविरुद्ध उजुरीको चाङ छ । ठगिएको थाहा पाएर पैसा माग्न जाँदा एक महिनादेखि उनी सम्पर्कविहीन बनेको पीडितहरूको गुनासो छ । ओलीलाई सम्पर्कमा ल्याई गुमेको पैसा फिर्ताका लागि पहल गरिदिन आग्रह गर्दै इलाका प्रहरी कार्यालय उर्लाबारी र उर्लाबारी नगरपालिकामा पीडितहरू पुग्ने गरेका छन् ।