झापा / धनुषाको एक विद्यालयमा प्रधानाध्यापकलाई मोसो दलेर दुर्व्यवहार भएको छ । जिल्लाको कमला नगरपालिका–३ निवासी औरही गाउँपालिका–१ स्थित श्री रामजानकी माध्यमिक विद्यालय झिटकहीयाका प्रधानाध्यापक ३४ वर्षीय मदनकुमार महरालाई असार ११ गते विद्यालयको परिसरमा मोसो दलेर दुर्व्यवहार व्यवहार भएको हो । 
प्रधानाध्यापक आफूलाई दुर्व्यवहार गरेको आरोपमा औरही गाउँपालिका–१ बस्ने ३१ वर्षीय सुजित यादव र ३७ वर्षीय रामनाथ यादवविरुद्ध पीडितले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएका छन् ।
विद्यालयमा भौतिक निर्माण तथा मर्मत सम्भारको लागि सङ्घीय सरकार र प्रदेश सरकारबाट आएको योजना अनुसारको काम गर्ने सम्बन्धमा आयोजित अभिभावक भेलामा आरोपितद्वयले प्रधानाध्यापक महरालाई मोसो दलेर अमानवीय व्यवहार गरेको पीडित प्रधानाध्यापक महराले बताए । 
प्रधानाध्यापक महरालाई मोसो दल्ने क्रममा बचाउन खोज्दा विद्यालयका कार्यालय सहयोगी जितो यादवलाई समेत आरोपितहरूले कुटपिट गरेको पीडित प्रधानाध्यापक महराले बताए । 
प्रदेश सरकारबाट शैक्षिक सुदृढीकरण तथा सामान्य मर्मत सम्भारका लागि प्राप्त ३० लाख र सङ्घीय सरकार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत चार कोठे भवन निर्माणका लागि प्राप्त ३६ लाख रुपियाँलाई कुन हिसाबले सदुपयोग गर्ने र विद्यालयको शिक्षा तथा शैक्षिक सुधार र सरसल्लाह गर्नका लागि आयोजित अभिभावक भेलामा विद्यालय व्यवस्थापन समिति गठन नगरिएको निहुँमा प्रधानाध्यापक महरामाथि दुर्व्यवहार गरेको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी जितेन्द्र बस्नेतले घटनाबारे प्रहरीमा उजुरी आएको र घटनाको अनुसन्धान भइरहेको बताए ।