विराटनगर / मोरङमा लगातारको वर्षाका कारण ३६७ घरधुरीका एकहजार ३६८ जनालाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता दीपक श्रेष्ठका अनुसार जिल्लाका धेरै क्षेत्रमा वर्षाका कारण डुबान र कटानको जोखिम देखिएको छ । मंगलबार देखि लगातार परेको वर्षा बुधबार समेत जारी छ ।
जोखिममा परेका नागरिकको उद्धारमा नेपाल प्रहरीले सहयोग गर्दै आएको छ । हालसम्म विराटनगर महानगरपालिका ८ का २५ घरपरिवारका ९५ जना र वडा नम्बर ७ का ३८ घरधुरीका १४५ जनालाई सुरक्षित स्थानमा सारिएको छ । विस्थापित मध्ये १७ घरपरिवारलाई गायत्री माविमा र बाँकी आफन्तको बसेका छन् ।
बेलबारी नगरपालिका –६ को बाहुनी खैटे खहरे खोलाको भेल गाउँ पस्दा ८ घर डुबानमा परेका छन् भने कटहरी गाउँपालिका –१ का १५० परिवार विस्थापित भएका छन् ।
टाईगर टोलका ८० घरधुरीका २८०, हनुमान मन्दिर क्षेत्रका ४० घरधुरीका १७० जना र नारी विकास टोलका ३० घरपरिवारका एकसय जना विस्थापित भएका छन् ।
यो बस्तीमा सिंघिया खोलाको बाढी पसेको छ । विस्थापितलाई नारी विकासको भवन, एकीकृत कृषि थोक बजार र सुरक्षित स्थानमा पाल टाँगेर राखिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
यसैगरी मोरङको बुढीगंगा गाउँपालिका –१ खापटोलमा सिंघिया खोलाको बाढी पस्दा २६ घर डुबानमा परेका छन् ।
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले नजिकैको प्रहरी यूनिटलाई सक्रिय बनाएर उद्धारमा परिचालन गरिएको जानकारी दिए ।
नागरिकलाई सचेत रहन आग्रह गर्दै जोखिम भए सुरक्षा लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीलाई तैनाथ राखिएको उनले बताए ।