बिर्तामोड / झापाको हल्दीबारी गाउँपालिका र शिवसतासी नगरपालिकाले सबै विद्यालयहरू बन्द गर्न निर्देशन दिएका छन् । 

गत सोमबार देखि परेको अविरल वर्षासँगै विभिन्न खोला तथा खोल्सामा आएको बाढीका कारण आवतजावतमा समस्या हुन थालेपछि दुई पालिकाले विद्यालय बन्द गर्न निर्देशन दिएको हो । 

OM Sai Pathibhara Hospital

लगातरको वर्षाले सडकहरू भत्केका कारण बालबालिकाहरूलाई हिँड्डुलमा समस्या हुनसक्ने भएकाले पालिकाका सबै विद्यालयहरूलाई पठनपाठन बन्द गर्न निर्देशन दिएको हल्दीबारी गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले जानकारी दिए । 

त्यस्तै झापाका अन्य विद्यालयहरू पनि बन्द गरिएको छ । विद्यार्थीहरूलाई विद्यालय आउन जान समस्या भएपछि विद्यालय बन्द गरिएको अर्जुनधारा स्थित स्वस्तीका शिशु सदनका प्रधानाध्यापक खम्बासिंह बस्नेतले बताए । 

सोमबार देखि परेको अविरल वर्षाका कारण झापा अधिकांश ठाउँ जलमग्न भएको छ । खोलाहरूमा आएको बाडी बस्तीमा पस्दा झापाका हजारभन्दा बढी घर डुबानमा परेका छन् ।

मेची, रतुवा, मावा, कमल, कन्काईलगायतका नदीमा आएको बाढीले घर डुबानसँगै दुई हजारभन्दा बढी परिवार विस्थापित भएका छन् ।

नदी किनारका सुकुम्बासी बस्ती प्रभावित छन् । प्रमुख जिल्ला अधिकारी छवि रिजालले अप्ठ्यारोमा परेका करिब ३ सय जनालाई सुरक्षित स्थलमा सारिएको बताए ।

गौरादह, गौरीगन्ज, कमल, शिवसताक्षी, बाह्रदशी र भद्रपुरमा पनि बाढी बस्तीमा पसेको उनले बताए । प्रहरीको सहयोगमा प्रभावितलाई उद्धार गरेर सुरक्षित स्थलमा राखिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरादह –६ तेलिया डाँगीमा रतुवा खोलाको बाढी पस्दा सयभन्दा बढी घर डुबानमा परेका छन् । भद्रपुरका विभिन्न वडामा मेचीको बाढीले असर पुर्‍याएको छ । शिवसताक्षीका ३ र ४ नम्बर वडामा कमल खोला पसेर ४० घर डुबानमा परेका छन् भने झापा –१ मिलनबस्तीका ९० घर डुबेका छन् ।

गौरीगन्ज –४ का १५ घर डुबानमा परेपछि प्रभावितलाई नजिकैको स्कुलमा सारिएको छ । बाह्रदशीको गौरीगाउँमा अदुवा खोलाको बाढी पस्दा ७ घरका ३३ जना विस्थापित भएका छन् । उनीहरूलाई नजिकैको स्कुल र धर्मशालामा आश्रय दिएर राखिएको प्रहरीले जनाएको छ ।

झापा गाउँपालिकाका सितुमारी, मिलनबस्ती, सिर्जनाबस्ती, टप्पुबस्तीमा कन्काई नदीको बाढी पस्दा ३ सय ५० घर डुबानमा छन् ।

रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले वर्षा नरोकिएका कारण अझै क्षति बढ्न सक्ने बताए । बाढी प्रभावितलाई रेडक्रस र विपद् व्यवस्थापन समितिले त्रिपाल लगायतका खाद्यान्न उपलब्ध गराएको छ ।