बिर्तामोड / नदी तटीय क्षेत्रमा बाढीको जोखिम भएकाले विषेश सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ ।
कैलाली,कन्चनपुर र आसपासका स्थानमा भारी वर्षा भएको, कान्द्रा, मोहना, खुटीया लगायत नदीमा एक्कासि बाढी आउन सक्ने सम्भावना रहेकाले एसएमएस मार्फत् जानकारी दिएको हो ।कान्द्रा नदी कैलालीमा जलसतहले सतर्कता तह पार गरेकाले बिहान १० बजेसम्म जोखिम बढी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसैबीच आज पनि मौसम बदली भई देशभर वर्षा हुने भएको छ । महाशाखाका अनुसार मनसुन देशैभर फैलिएको छ ।
आज देशका केही ठाउँमा चट्याङसहित भारी वर्षा हुनेछ । महाशाखाका अनुसार सातै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।
पहाडी क्षेत्रमा पहिरो, खोलाहरूमा बाढी आउन सक्ने र यातायात क्षेत्रसमेत प्रभावित हुने भन्दै महाशाखाले सतर्क रहन सूचित गरेको छ ।