मोरङ / गएराति देखि परेको अविरल वर्षाका कारण मोरङको गछिया खोलामा आएको बाढीमा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दरहरैँचा –६ सिसौघारीका ५५ वर्षीय रामबहादुर बिक रहेका छन् ।
सुन्दरहरैँचा –३ स्थित आइतबारेमा गछिया खोलाले बगाउँदै गरेको अवस्थामा मंगलबार बिहान विकको शव भेटिएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।
दाहालका अनुसार बाढीका कारण मोरङको विराटनगर र कटहरीमा एक हजार ६७५ परिवार विस्थापित भएका छन् । सिंघिया खोलामा आएको बाढी बस्तीमा पस्दा एक हजार ६७५ परिवार विस्थापित भएका हुन् ।
विराटनगर महानगरपालिका वडा नम्बर –१, २, ४, ६, ७, ८, ११, १२, १६ र १९ नम्बर वडाका १ हजार ५ सय घरपरिवार डुबानमा परेका छन् । उनीहरुको उद्धार कार्य भइरहेको प्रजिअ दाहालले बताए ।
त्यस्तै कटहरी गाउँपालिका –१ मा १७५ परिवार विस्थापित भएका छन् । कटहरी १ को टाइगर टोलमा ६०, हनुमान मन्दिर एरियामा ४० र नारी विकास संघ एरियाका ३० परिवार विस्थापित भएका हुन् ।
बाढीका कारण विस्थापित भएकाहरूलाई सुरक्षित स्थानमा सारिएको छ । वर्षा जारी रहेकाले खोला किनारका बस्तीहरूलाई सतर्कता अपनाउन जिल्ला प्रहरी कार्यालय मोरङले आग्रह गरेको छ ।
यस्तै मोरङको सुनवर्षी नगरपालिका, केराबारी गाउँपालिका, बेलबारी नगरपालिका, कटहरी गाउँपालिका, ग्रामथान र बुढीगंगा गाउँपालिकाका कतिपय वस्तिहरु पनि बाढीका कारण कटान र डुबानको समस्यामा परेका छन् ।
जसका कारणले सयौँ घर परिवार विस्थापित भएका छन् । उनीहरूलाई उद्धार र राहतको काम अहिले पालिकाहरूले गरिरहेको छ ।