झापा / डडेल्धुराको आलिताल गाउँपालिकामा कार्यरत कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीको लुटिएको भनिएको कार भेटिएको छ । कैलालीको गोदावरी नगरपालिका १ स्थित पाठक आयल स्टोरदेखि शान्तिनगर जाने भित्री सडकखण्डमा बेवारिसे अवस्थामा कार फेला परेको प्रहरीले जनाएको छ ।

गोदावरी नगरपालिका ४ स्थित  गाईमारे भन्ने स्थानमा भण्डारीलाई कुटपिट  गर्दै कार लुटपाट भएको थियो ।  कञ्चनपुकोर भीमदत्त नगरपालिकाबाट डडेलधुराको आलितालतर्फ जाँदै गर्दा बेदकोट नगरपालिका ३ बस्ने भण्डारीले चलाएको कार लुटिएको थियो । 
उनले चलाइरहेको प्रदेश ०३–०१–०२३ च ८७२१ नम्बरको सिल्भर रङ्गको सुजुकी कारलाई सोही कारमा लिफ्ट मागेर चढेका ३ जनाले सोमबार बिहान लुटेका थिए । चालकलाई फोटो खिच्ने बहानामा सडक देखि ५० मिटर तल लगी कुटपिट गरी हातखुट्टा बाँधेर सडकबाट तल फाली मोबाइल र पैसासहित कार लुटेर भागेका थिए । भण्डारीको पद्मा अस्पताल गोदावरीमा उपचार भइरहेको छ ।