काठमाडौं / भन्सार छली गरी ल्याएको तीन लाख बराबरको पाम तेलसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका –१५ का २६ वर्षीय मैरुद्दीन अन्सारी, उनका भाइ २० वर्षीय मैरुद्दीन अन्सारी, कलैया–१७ सुराहीका २१ वर्षीय मुन्ना अन्सारी र बारा, परवानीपुर –१ का २२ वर्षीय सञ्जय महतो रहेका छन् ।
उनीहरुले भारतीय सीमावर्ती बजारबाट पाम तेल भित्र्याएका हुन् । तेलसहित ना २ च ५२३२ र ना ५ च ६१६ नम्बरको पिकअप भ्यान नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ ।
करिब ३ लाख रुपैयाँ बराबरको एक हजार दुई सय लिटर पाम तेल र किराना समान प्रहरीले बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश दत्तका अनुसार भ्यान, बरामद समान तथा पक्राउ परेका चार जनालाई आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार पठाइएको छ ।