काठमाडौं / आज काठमाडौं उपत्यकासहित मुलुकभर हल्का पानी परिरहने र भोलिदेखि ठूलो पानी पर्ने सम्भावना छ । आज केहीबेर पानी पर्न रोकिए पनि दिनभर घाम लाग्दैन । साँझ ठूलो पानी पर्नसक्छ, भोलि रातिदेखि बिहिबारसम्म ठूलो पानी पर्ने सम्भावना छ ।
मौसमविद् हिरा भट्टराईका अनुसार मङ्गलबारदेखि बिहिबारसम्म मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू- भाग नजिक आइपुग्ने सम्भावना भएकोले मनसुन थप सक्रिय हुने भएको हो ।
उनले प्रदेश १, मधेश प्रदेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको बताए । मङ्गलबारदेखि बिहीबार सम्म देशभर सामान्य देखि पूर्णतया बदली रही ठूलो पानी पर्ने सम्भावना रहेको छ । प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका अधिकांश भूभाग र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका तराईका क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रहेको छ’, उनले भने । उनले बिहिबारदेखि पनि सबै प्रदेशमा मध्यम वर्षा र झरी र थोरै स्थानहरूमा भारी वर्षा भइरहने जानकारी दिए ।
मंगलबार देखि बिहिबारसम्म देशको पहाडी भू- भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन आग्रहसमेत गरेका छन् ।