बिर्तामोड / झापाको अर्जुनधारामा बोरामा हालेर फ्याँकिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
आइतबार साँझ अर्जुनधारा –४ स्थित ह्युम पाइपभित्र बोरामा पोको पारेर फ्याँकिएको अवस्थामा अन्दाजी ३५–४५ वर्षका एक युवकको लाश फेला परेको हो । हालसम्म शवको पहिचान नभएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक रुगम बहादुर कुँवरका अनुसार शवको दुवै कुममा आरएन शब्द भएको ट्याटु खोपिएको छ ।
केही दिन अघिनै हत्या भएको जस्तो देखिने शवको टाउकोमा भारी बस्तुले हानेर हत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ । उनको शरीरमा निलडाम तथा धारिलो वस्तु प्रयोग गरेको चोट नभएको डीएसपी कुँवरले जानकारी दिए ।
आइतबार साँझ स्थानीयले बोराबाट गन्ध आइरहेको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली लास भएको ठाउँमा पुगेको थियो ।
उक्त शव पोस्टमार्टमका लागि धरान पठाइएको र घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको कुवँरले जानकारी दिए ।