बिर्तामोड / झापा र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानबाट बिभिन्न मुद्दाका फरार प्रतिवादी ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत झापा र मोरङको बिभिन्न मितिको फैसलाले कैद सजाय र जरिवाना तोकी हाल सम्म फरार रही लुकी छिपी बसेका दमक नगरपालिका -७ झापाका ३९ वर्षीय तेजु भन्ने तेज बहादुर मगर, मिक्लाजुङ गाउँपालिका- ३ मोरङका ४० बर्षीय सुमनसंभी लिम्बू, सोही स्थानका २६ वर्षीय रमेश घिमिरे, बेलबारी नगरपालिका- २ लालभित्ती मोरङका २१ वर्षीय अर्जुम झागड र धनपालथान गाउँपालिका- ५ मोरङका सुन्नर सरदार पक्राउ परेका हुन् ।
बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले लागूऔषध मुद्दामा सम्मानित झापा जिल्ला अदालतको मिति २०७६/०२/०५ गतेको फैसलाले ६ वर्ष कैद र १० हजार जरिवाना तोकिएका मगरलाई दमक-६ स्थितबाट पक्राउ गरेको हो ।
जिल्ला अदालत मोरङको मिति २०७८/०४/१ र २ गतेको फैसलाले विना इजाजत राष्ट्रिय वन क्षेत्रमा प्रवेश मुद्दा र हातहतियार खरखजाना मुद्दामा १० महिना २९ दिन कैद र ३० हजार जरिवाना तोकिएका सुमनसंभी लिम्बू र जबरजस्ती करणी मुद्दामा २ महिना १० दिन कैद, ५ हजार जरिवाना तोकिएका रमेश घिमिरेलाई इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
यसै गरी चोरी मुद्दामा ५ महिना १६ दिन कैद र ५ हजार जरिवाना तोकिएका अर्जुन झाँगडलाई इलाका प्रहरी कार्यालय बेलबारीले र नकवजनी चोरीमुद्दामा ७ महिना ५ दिन कैद, १० हजार रुपैयाँ जरिवाना तोकिएका सुन्नर सरदारलाई इलाका प्रहरी कार्यालय रङ्गेलीले पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुलाई कैद भुक्तानको लागि जिल्ला कारागार पठाइएको छ ।