बिर्तामोड / झापाको शिवसतासी नगरपालिका- १० दोमुखा स्थितबाट अवैध  लागूऔषध ब्राउनसुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा माई नगरपालिका- ८ इलामका २५ वर्षीय  सुजेन्द्र राई, झापा कन्काई नगरपालिका -३ का ४३ वर्षीय बेनु प्रसाद चिमरिया र  कन्काई- ४ का ३२ वर्षीय हेम नारायण चौधरी रहेका छन् । लागूऔषध ब्राउनसुगरको किनबेच भइरहेको भन्ने विशेष सूचनाको आधारमा आइतबार बेलुका ४ बजे इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूको साथबाट प्रहरीले १७ ग्राम लागूऔषध ब्राउनसुगर, नगद ८८,५००, मोबाइल २ थान , र ३ थान मोटरसाइकल बरामद गरेको छ । यसैगरी सोही स्थानमा लागूऔषध खरिद गर्न आएका दमक नगरपालिका- १० का २८ वर्षीय सुजन राई र दमक नगरपालिका- ९ का २५ वर्षीय सुरज तामाङलाई को ६ प ६९४८ नम्बरको मोटरसाइकल सहित नियन्त्रणमा लिइएको हो ।
 लागूऔषध सहित पक्राउ परेका ५ जनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान भइरहेको छ ।