विराटनगर / प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले लागू औषध दुरुपयोगलाई रोक्नका लागि सबैको भूमिका महत्त्वपूर्ण रहने बताएका छन् । आइतबार अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसको अवसरमा विराटनगरमा आयोजित प्रभात फेरी कार्यक्रममा मन्त्री कार्कीले लागू पदार्थको अवैध कारोबार तथा धन्दालाई निरुत्साहित पार्न प्रदेश सरकार लागिरहेको बताए ।

‘प्रदेश सरकार लागू पदार्थ दुरुपयोगलाई निरुत्साहन गर्न लागि परिरहेको छ, सबै सँगको समन्वयमा यो सम्भव पनि छ । उनले भने , आन्तरिक मामिला मन्त्रालयले पुनः स्थापना केन्द्रहरू, जिल्ला प्रशासन कार्यालय, प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालयहरू सँग समन्वय गरिरहेको छ । खास गरी किशोर किशोरी समूहमा विद्यार्थी लागू औषधको अवैध प्रयोगकर्ता बढी रहेको उल्लेख गर्दै मन्त्री काकीले त्यसलाई रोक्नका लागि पनि विद्यार्थीले नै भूमिका खेल्नुपर्ने बताए । ‘एउटा विद्यार्थी घरपरिवार भन्दा बढी साथीसँग नजिक हुन्छ भने, उ कुलतमा फस्न लाग्दा साथीले नै रोक्न सक्छ, उनले भने, त्यसका लागि मन्त्रालयले चाँडै कल सेन्टरको स्थापना गर्छ, प्रहरीका इकाईहरू छन् त्यहाँ पनि खबर गर्न सक्नुहुनेछ  ।’
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले तीनै तहका सरकार लागू पदार्थ दुरुपयोगलाई निरुत्साहन गर्न लाग्नुपर्ने बताउँदै प्रदेश सरकारले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताएका छन् ।