बिर्तामोड / झापाको गौरादह नगरपालिका –३ र झापा गाउँपालिका –३ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । 

गौरादह –३ को वडा अध्यक्षमा दिलीपकुमार भण्डारी र झापा –३ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार सुवासलाल गणेश निर्वाचित भएका हुन् । 

OM Sai Pathibhara Hospital

जेब्रा चिन्हबाट चुनाव लडेका भण्डारीले गौरादह ३ मा झन्डै दोब्बर मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका छन् । 

भण्डारीले एक हजार ९४ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका गजेन्द्रप्रसाद घिमिरेले ५८६ मत ल्याएका छन् । 

तर, वडा अध्यक्ष स्वतन्त्र उम्मेदवारले जितेपनि सदस्यहरूमा भने एमालेले जितेको छ । सदस्यमा एमालेका हेमनाथ थापा, कृष्णप्रसाद सुवेदी, कल्पना अधिकारी र विमला विश्वकर्मा निर्वाचित भएका छन् ।

त्यस्तै झापा गाउँपालिका –३ मा भूइँकटहर चुनाव चिन्ह पाएका स्वतन्त्र उम्मेदवार गणेशले ९५८ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका खड्गनारायण राजवंशीले ६६३ मत ल्याएका छन् । 

वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारले जितेपनि बाँकी सदस्यहरू एमालेले जितेको छ । खुल्ला सदस्यमा एमालेका कुमार राई, अब्दुल रसिद, तारा सुवेदी बराल र सुमित्रा विश्वकर्मा विजयी भएका छन् ।