काठमाडौं / अविरल वर्षापछि आएको बाढी, पहिरो र सडक क्षतिले देशका विभिन्न मुख्य राजमार्गमा यातायात सेवा प्रभावित भएको छ।
नेपाल प्रहरीका अनुसार शुक्रबार बिहानसम्म कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडकखण्ड पूर्ण वा आंशिक रूपमा अवरुद्ध रहेका छन्। कोशी प्रदेशमा भोजपुरस्थित मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा रहेको छ भने इलामको मेची राजमार्ग पहिरोका कारण पूर्ण रूपमा बन्द भएको छ।
इलाम नगरपालिका–९ राजदुवालीदेखि झापा हुँदै ताप्लेजुङ जोड्ने सडकखण्डमा पनि यातायात प्रभावित बनेको छ। बागमती प्रदेशमा काभ्रेको बीपी राजमार्ग र मकवानपुरको कान्तिलोकपथमा बाढी तथा पहिरोको जोखिम बढेपछि सवारी सञ्चालनमा अस्थायी रोक लगाइएको छ। यस्तै, सिन्धुपाल्चोकको अरनिको राजमार्गका विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।
रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक बाढीका कारण लामो समयदेखि बन्द छ भने पासाङल्हामु सडकखण्ड पनि पहिरोका कारण सञ्चालन हुन सकेको छैन।नुवाकोटको टोखा–छहरे सडकमा समेत रातिको समयमा सवारी आवागमन रोकिएको छ। गण्डकी प्रदेशमा बागलुङको कालीगण्डकी करिडोर एकतर्फी सञ्चालनमा छ।
लमजुङको बेँसीसहर–मनाङ सडक पूर्ण रूपमा बन्द रहेको छ भने मुस्ताङको बेनी–जोमसोम सडकखण्डमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ। कर्णाली प्रदेशअन्तर्गत रुकुम पश्चिमको जाजरकोट–डोल्पा सडकखण्ड पनि बाढीका कारण पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
प्रहरीले वर्षा जारी रहेकाले सडकको अवस्था थप जोखिमपूर्ण हुन सक्ने भन्दै यात्रा अघि सम्बन्धित निकायबाट सडकको अवस्था बुझ्न, आवश्यक सतर्कता अपनाउन र स्थानीय प्रशासन तथा सुरक्षाकर्मीको निर्देशन पालना गर्न सबैलाई आग्रह गरेको छ।






































