छातेढुङ्गा / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जन्म गाउँ आठराई गाउँपालिकामा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार दिलकुमार पाहिम विजयी भएका छन् । 

पाहिमले नेकपा एमालेका रामचन्द्र थपलियालाई ६ सय ८४ मतान्तरले पराजित गर्दै गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । 

OM Sai Pathibhara Hospital

पाहिमले ४ हजार ६ सय ९९ मत पाएका छन् भने उनका प्रत्यासी थपलियाले ४ हजार ८ मत प्राप्त गरेका छन् । 

उपाध्यक्षमा ४ हजार ८० मत प्राप्त गरी सत्ता गठबन्धनकै नेकपा माओवादीका बलिराज ईङनाम विजयी भएका छन् ।

निवर्तमान उपाध्यक्ष समेत रहेकी एमालेकी उम्मेदवार रूपादेवी कन्दङ्वालाई १० मत अन्तरले पछि पार्दै ईङनाम विजयी भएका हुन् । कन्दङवाले ४ हजार ७० मत प्राप्त गरेकी छिन् । 

कांग्रेस गाउँपालिका सभापति रहेका पाहिम यसअघि वडा नम्बर –२ को वडाध्यक्ष थिए । यहाँ २०७४ को स्थानीय निर्वाचनमा समेत नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन थियो । 

तर, त्यसबेला एमालेले अध्यक्ष र उपाध्यक्षसहित बहुमत सिटमै जित निकालेको थियो । यसपटक भने गठबन्धनले बहुमत सिट जितेको छ ।

७ वडा रहेको आठराईमा २, ३, ४ र ६ नम्बर वडामा कांग्रेस विजयी भएको छ भने १, ५ र ७ मा मात्र एमाले उम्मेदवार विजयी भएका छन् ।