चितवन / नेपाली कांग्रेसले पूर्वसांसद भीम बहादुर श्रेष्ठसहित चितवनका पाँच जना नेता तथा कार्यकर्ताहरूलाई निलम्बन गरेको छ । 

काँग्रेस सचिव प्रदीप पराजुलीका अनुसार स्थानीय तह निर्वाचनमा पार्टीको विधान र अनुशासन विपरीत काम गरेको भन्दै कांग्रेसले श्रेष्ठसहितनेता–कार्यकर्ताहरुलाई निलम्बन गरेको हो ।

OM Sai Pathibhara Hospital

निलम्बनमा पर्नेमा पूर्व सांसद श्रेष्ठ, पूर्व केन्द्रीय सदस्य शम्भु प्रसाद अर्याल, क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत, तरुण दलका पूर्व जिल्ला सचिव आनन्दराज राउत र क्रियाशील सदस्य डा. केशव पौडेल रहेका छन् । 

भरतपुर महानगरपालिकामा गठबन्धनका उम्मेदवार विरुद्ध लागेको भन्दै कांग्रेसले उनीहरूलाई निलम्बन गरेको बताइएको छ । 

भरतपुरमा पाँच दलीय गठबन्धनबाट माओवादीकी रेनु दाहाल मेयरकी उम्मेदवार छिन् । दाहालविरुद्ध कांग्रेसका नेता जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएका छन् । 

कांग्रेसले यसअघि पौडेल, उनका प्रस्तावक कृष्णलाल सापकोटा र समर्थक मीना खरेललाई पनि निष्कासन गरेको थियो ।