स्थानीय तह निर्वाचनमा यी नेताल निम्न ठाउँ र मतदान केन्द्रबाट गर्दैछन् मतदान 

OM Sai Pathibhara Hospital
शेरबहादुर देउवा
प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा डडेल्धुरामा मतदान गर्ने भएका छन् ।
उनले गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मताधिकार प्रयोग गर्ने भएका हुन् । सहायक मतदान अधिकृत दिलीप तामाङका अनुसार देउवाको मतदाता नामावली रुवाखोलामा छ । देउवा गृह प्रदेशमा छन् । उनी शुक्रबार मतदानपछि मात्र काठमाडौं फर्कँदैछन् ।

रामचन्द्र पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तह निर्वाचनमा तनहुँबाट मतदान गर्ने भएका छन् । शुक्रबार बिहान सात बजेपछि व्यास नगरपालिका- २ को सत्यवती मावि केन्द्रबाट मतदान गर्ने उनले बताए । पौडेलको गृह जिल्ला पनि तनहुँ नै हो भने उनी तनहुँ १ बाट प्रतिनिधिसभा निर्वाचन लड्दै आएका छन् ।

ईश्वर पोखरेल
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नै निर्वाचन क्षेत्र टोखाबाट मतदान गर्ने भएका छन् । नेता पोखरेलले काठमाडौँ जिल्लाको टोखा नगरपालिका वडा नम्बर- ६ स्थित नमोबुद्ध स्कुलमा रहेको मतदान स्थलबाट मतदान गर्ने पोखरेलको सचिवालयले जनाएको छ । पूर्व रक्षा मन्त्री समेत रहेका पोखरेल काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य समेत हुन् ।

शेखर कोइराला
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले स्थानीय तह निर्वाचनमा गृहजिल्ला मोरङबाट मतदान गर्ने भएका छन् ।  मोरङको विराटनगर महानगरपालिका– ७ स्थित आदर्श माध्यमिक विद्यालयको मतदान केन्द्रमा शुक्रबार बिहान ७ बजे नै मतदान गर्ने छन् । कोइरालाका स्वकीय सचिव दिनेश थपलियाका अनुसार उनी अहिले विराटनगरमै छन् । कोइरालाको निर्वाचन क्षेत्र पनि मोरङ– ६ नै हो ।

विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनमा झापाबाट मतदान गर्दै छन् । महामन्त्री शर्माको मतदाता नामावली गृह जिल्ला झापाको मेचीनगर नगरपालिका वडा नम्बर -९ मा रहेको छ  ।
उनको सचिवालयका अनुसार महामन्त्री शर्माले शुक्रबार मेचीनगरको कविशिरोमणि माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गर्दैै छन् । महामन्त्री शर्मा झापा १ बाट प्रतिनिधिसभा निर्वाचन भिड्दै आएका छन् ।

गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाको मतदाता नामावली काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा रहेको छ । भोलि शुक्रबार हुने स्थानीय निर्वाचनमा महामन्त्री थापाले महानगरपालिका –३० को मैतीदेवीस्थित मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान गर्दैछन् ।
संघीय सांसद समेत रहेका थापाको निर्वाचन क्षेत्र काठमाडौं क्षेत्रमा पर्दछ । महामन्त्री थापाका स्वकीय सचिव शैलेश सिटौलाका अनुसार महामन्त्री थापाले मतदान गर्ने समय भने तय भएको छैन ।

नारायणकाजी श्रेष्ठ / बाबुराम भट्टराई
नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले गोरखाबाट मतदान गर्ने भएका छन् । श्रेष्ठले गोरखाको सिरानचोक गाउँपालिका -८ स्थित परोपकार माध्यमिक विद्यालयबाट मतदान गर्ने भएका हुन् । बाबुरामले गोरखाको पालुङटार नगर एकको अन्नपूर्ण माध्यमिक विद्यालयबाट मतदान गर्ने छन् ।कुनै समय एउटै पार्टीमा भएका नारायणकाजी र बाबुराम अहिले फरक फरक पार्टीमा छन् । नारायणकाजी र बाबुराम दुबै विगत हप्तादेखि आफ्नो पालिकामा पुगिसकेका छन् ।

हरिबोल गजुरेल / गिरिराजमणि पोखरेल

नेकपा माओवादी केन्द्रका प्रभावशाली नेताहरू हरिबोल गजुरेलले सिन्धुली, गिरिराजमणि पोखरेलले महोत्तरी र मातृकाप्रसाद यादवले धनुषाबाट मतदान गर्ने भएका छन् । शुक्रबार हुन गइरहेको स्थानीय चुनाव लागि उनीहरु यसअघि नै आफ्नो क्षेत्र पुगिसकेका छन् । गजुरेलले कमलामाई नगरपालिका -४ स्थित कमला माध्यमिक विद्यालयबाट मतदान गर्ने भएका छन् । यस्तै पोखरेलले बर्दिबास नगरपालिका - ३ स्थित गौरीडाँडा र यादवले सबैला नगरपालिका २ स्थित रामप्रसाद उच्च माध्यमिक विद्यालयबाट मतदान गर्ने भएका छन्। ।

अग्नि सापकोटा
सभामुख अग्नि सापकोटाले स्थानीय तह निर्वाचनमा गृहनगर सिन्धुपाल्चोकबाट मतदान गर्ने भएका छन् । सापकोटा मतदानका लागि बिहीबार काठमाडौँबाट गृहजिल्ला सिन्धुपाल्चोक जाँदैछन् । सभामुख सापकोटाले साँगागढीचोक नगरपालिका वडानम्बर -४ मा रहेको कुभिण्डेस्थित श्री सेतीदेवी पञ्चकन्या मावि मतदानस्थलबाट मतदान गर्ने सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए 


सुवास नेम्वाङ
नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले गृहनगर इलामबाट स्थानीय तह निर्वाचनको मतदान गर्ने भएका छन् । संविधानसभा अध्यक्ष समेत रहेका नेम्वाङले इलाम नगरपालिका वडा नम्बर -७ स्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसमा रहेको मतदान स्थलबाट मतदान गर्ने जानकारी दिए ।
उक्त क्याम्पस नेता नेम्वाङले अध्ययन गरेको क्याम्पस समेत हो । उनी इलाम निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य पनि हुन् ।

कृष्णबहादुर महरा / वर्षमान पुन / ओन्सरी घर्ती
नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा, पूर्व स्थायी समिति सदस्य वर्षमान पुन सहित लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी‘सोनाम’ले रोल्पाबाट मतदान गर्ने भएका छन् । माओवादीका तीनै जना प्रभावशाली नेताले रोल्पा नगरपालिकाबाट मतदान गर्ने भएका हुन् ।

प्रवक्ता महराले रोल्पा नगरपालिका -१ स्थित दामरुक तारा माध्यमिक विद्यालयबाट मतदान गर्ने छन् । उनको निर्वाचन क्षेत्र दाङ क्षेत्र नम्बर २ भएपनि मतदाता नामावली भने रोल्पा नगरपालिकामै छ । पुनले नगरकै वडा नम्बर -७ माडिचौरको बाल उदय माध्यमिक विद्यालयबाट मतदान गर्ने छन् । यस्तै पूर्व सभामुख ओन्सरी घर्तीले समेत सोही मतदान केन्द्रबाट मतदान गर्ने छिन् । माओवादीबाटै मुख्यमन्त्री भएका केसीले रोल्पा नगर ६ स्थित कोटगाउँ मतदान गर्नेबाट मतदान गर्ने भएका छन् । यस्तै जयपुरी घर्तीले परिवर्तन गाउँपालिका -२ स्थित राङसी माध्यमिक विद्यालयबाट मतदान गर्ने भएकी छिन् । रोल्पाका सबै माओवादी शीर्ष नेताहरू हप्ता दिन अघि नै आ–आफ्ना स्थानीय तह पुगी सकेका थिए ।


पुष्पकमल दाहाल
मतदानका लागि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन पुगेका छन् ।
प्रचण्ड मतदानको दिनभन्दा दुई दिन अगाडि नै चितवन आएर बसेका हुन् । मौन अवधिमा मतदाता प्रभावित पार्न उनी सक्रिय देखिन्छन् । बुधबार छोरी रेणु दाहालको निवासमा प्रचण्ड बसेका बेला प्रचण्ड निवासमा सरकारी र निजी गाडीको लावालस्कर लागेको थियो । मौन अवधिबीच प्रचण्ड आज माडी जाँदै छन् । उनले आफ्नी छोरी भरतपुर महानगरपालिकाको मेयरको उमेदवार रेणु दाहाललाई भरतपुर–१४ स्थित पुलिस स्कुल शिवनगरबाट मतदान गर्दै छन् । पाँच दलीय गठबन्धनबाट मेयरमा रेणु दाहालको उम्मेदवारी छ । मेयर उमेदवार स्वयं रेणुले पनि पुलिस स्कुलबाट मतदान गर्ने माओवादी केन्द्र चितवनका संयोजक आरसी अधिकारीले जानकारी दिए । ‘दुबै जनाले पुलिस स्कुल शान्तिपुरबाट मतदान गर्ने छन् । कतिबेला गर्ने भनेर समय भने तय भइसकेको छैन ।

विजय सुवेदी
नेकपा (एमाले)का मेयरका उमेदवार विजय सुवेदीले भरतपुर–१२ स्थित मोहन माविबाट मतदान गर्दै छन् । मोहन माविमा ७ वटा मतदान केन्द्र छन् । यहाँ सात हजार ५६ जना मतदाता छन् । सुवेदीलाई मेयरमा राप्रपाले समर्थन गरेको छ ।

जगन्नाथ पौडेल
कांग्रेसको असन्तुष्ट पक्षबाट मेयरमा स्वतन्त्र उमेदवारी दिएका जगन्नाथ पौडेलले भरतपुर–७ स्थित कृष्णपुर माविबाट मतदान गर्दै छन् । कृष्णपुर माविमा पनि ७ वटा मतदान केन्द्र छन् । विवेकशील साझाका मेयरका उमेदवार प्रविन काफ्लेले भरतपुर–१० स्थित बालमन्दिर आधारभुत विद्यालयबाट मतदान गर्दै छन् । भोलि बिहान ८ बजेभित्र मतदान गरिसक्ने योजना रहेको उनले जानकारी दिए । बालमन्दिरमा चार वटा मतदान केन्द्र छन् ।