दाङ / नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलालाई प्रहरीले ६ घण्टा पछि छोडेको छ । दाङको भालुवाङबाट पक्राउ परेका बास्तोलालाई प्रहरीले सोधपुछ पछि छाडेको हो । 

पोखराबाट नेपालगञ्ज जाँदै गरेका बास्तोलासहित राजेन्द्र साउद र अचल मोक्तानलाई बिहीबार बिहान ४ बजे भालुबाङ प्रहरीले नियन्त्रणमा लिएको थियो । 

OM Sai Pathibhara Hospital

बास्तोलालाई बुटवलमा भएको बम विस्फोटको घटनामा नेकपा बहुमत पार्टीको संलग्नताको आशङ्कामा सोधपुछका लागि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक सुजन विक्रम शाहले बताए।

 ‘निर्वाचन र बुटवलमा भएको बम विस्फोटको घटनाबारे सोधपुछ गरेका थियौं,’ उनले भने, ‘बम विस्फोटको घटनामा उहाँहरूको संलग्नता भएको देखिएन र निर्वाचन बहिष्कारको नीति नभएको खुलेपछि जिम्मा जमानीमा छोडेका छौं ।’

प्रहरी समक्ष बास्तोलाले आफ्नो पार्टीले चुनाव बहिष्कार गर्ने कुनै नीति नभएका समेत बताएको प्रहरी निरीक्षक शाहले बताए ।

बास्तोला पक्राउ परे लगत्तै नेकपा बहुमतका केन्द्रीय कार्यालय सदस्य हेमन्तप्रकाश वलीले विज्ञप्ति जारी गर्दै चुनाव बहिष्कार गर्ने नीति नभएको जानकारी दिएका थिए ।