धादिङ / धादिङमा सत्तारुढ गठबन्धनका कार्यकर्ताबीच भएको झडपमा २० जना स्थानीय घाइते भएका छन् । जिल्लाको नीलकण्ठ-६ भोर्लेमा नेपाली कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप हुँदा २० जना भन्दा बढी स्थानीय घाइते भएका हुन् । 

झडपमा नेपाली कांग्रेसका वडा अध्यक्ष उम्मेदवार भुपेन्द्र कुमार श्रेष्ठसहित , माओवादी केन्द्रका दुई कार्यकर्ता अनिल श्रेष्ठ र विष्णु रानासहित २० जना घाइते भएका छन् । 

OM Sai Pathibhara Hospital

झडपमा टाउको, दाहिने आँखा, दाँत लगायत शरीरको विभिन्न ठाउँमा चोट लागेर घाइते भएका श्रेष्ठको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

झडपमा तेज कुमार श्रेष्ठ, कविराज श्रेष्ठ, प्रकाश श्रेष्ठ, हरि बहादुर श्रेष्ठ, बाबुराम श्रेष्ठ, सुमन श्रेष्ठ, सुब्बा नेपाली, विष्णु कुमार श्रेष्ठ, राजकुमार उपरकोटी, भुपेन्द्र श्रेष्ठ, रामहरी मगराती, राजकुमार श्रेष्ठ, विष्णुकुमार नेपाली, गोकर्ण उपरकोटी, लक्ष्मण राना, विवश राना, बिकेश राना, गोपी नेपाली, अनुप श्रेष्ठ, राजकुमार उपरकोटी लगायत घाइते भएका छन् । 

स्थानीयका अनुसार निर्वाचन आयोगले मौन अवधि तोकेकै समयमा बुधबार राती प्रचार प्रसारमा लागेका दुवै पक्षबीच झडप भएको थियो । 

मौन अवधिमा पनि प्रचार प्रसार गर्न गएका कांग्रेस तर्फका वडाध्यक्षका उम्मेदवार श्रेष्ठलाई माओवादी समर्थित स्थानीयले आक्रमण गरेको जनाइएको छ ।

कांग्रेस कार्यकर्ताले माओवादी कार्यकर्तामाथि आक्रमण गरेपछि झडप सुरु भएको स्थानीयले बताएका छन् ।

झडप भएको स्थल निलकण्ठ नगरपालिकाको मेयरमा कांग्रेस नेता तथा हालका मेयर भीम प्रसाद ढुङ्गानालाई माओवादी केन्द्रको समर्थन र माओवादी केन्द्रका उपमेयरमा दीपक विश्वकर्मालाई कांग्रेसको समर्थन रहेको छ ।