बिर्तामोड / नेपाली काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आगामी बैशाख ३० मा स्थानीय तहको निर्वाचनमा ढुक्क भएर गठबन्धनका उम्मेदवारलाई मतदान गर्न मतदाताहरूलाई आग्रह गरेका छन् । संयुक्त गठबन्धन  बिर्तामोडले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले कुनै पनि प्रकारको अहंकार नदेखाई मतदाताहरूसँग भोट माग्न काँग्रेस र  माओवादी नेतृत्वको गठबन्धनका उम्मेदवारहरूलाई आव्हान गरेका हुन् । 

उनले कसैका विरुद्ध नभई देशको मुहार फेर्न चुनावी तालमेल गरेको बताउँदै शर्माले गठबन्धन  बारे स्पष्ट समेत परेका छन् । 
‘कांग्रेसलाई एक्लै चुनाव लडौं भन्ने नलागेको होइन’ उनले भने, ‘सहकार्यबाट अघि बढ्दा देशका लागि राम्रो हुने निष्कर्षका साथ पार्टीले चुनावी तालमेल गर्ने निर्णय लिएको हो ।’ चुनावी तालमेल गर्नुको अरु कुनै कारण नभएको उनले दोहोर्याएका छन् । 

 पहिलोपटक मतदान गर्न लागेका मतदातालाई प्रश्न गर्न उनले आग्रह समेत गरे । सभ्य र सुसंस्कृत देश बनाउन मतदाताका लागि निर्वाचन अवसर भएको उनको तर्क छ । निरन्तर पाँच वर्षसम्म बहुमतको सरकार चलाउने अवस्था सिर्जना गर्छौ उनले भनेका छन् । अहङ्कारले कसैको पनि हित नगर्ने बताउँदै शर्माले के पी ओलीको अहङ्कारकै कारण एमालेबाट माधव कुमार नेपाल , झलनाथ खनाल , प्रचण्ड विभाजित भएको दाबी गरेका छन् ।