झापा / वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मंगलबार राति १२ बजेपछि मौन अवधि लागू हुँदै छ । 

निर्वाचन आयोगले पालिकाका प्रमुख–अध्यक्ष, उपप्रमुख–उपाध्यक्ष, वडाध्यक्ष र सदस्य चुन्न मतदान सुरु हुनु ४८ घण्टाअघिदेखि मतदान नसकिएसम्म कायम रहने गरी मौन अवधि लागू गरेको हो । 

OM Sai Pathibhara Hospital

निर्वाचन निष्पक्ष, भयमुक्त वातावरणमा सम्पन्न गर्न मौन अवधि तोकिएको हो । मौन अवधिभर दल, तिनका भ्रातृ संगठन, उम्मेदवार, संघ संगठन लगायतले राजनीतिक प्रचार, भेला, गोष्ठी आयोजना गर्न नपाउने आयोगको आचरण निर्देशिकामा उल्लेख छ ।

निर्देशिका विपरीत मौन अवधिमा मतदाता प्रभावित पार्ने गतिविधि गरे उम्मेदवारी रद्ददेखि १ लाख रुपैयाँ जरिवाना सम्मको कारबाही हुन सक्ने निर्वाचनसम्बन्धी कानुनमा उल्लेख छ ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा १ मा ‘निर्वाचन आचारसंहिता कार्यान्वयन र अनुगमन’ सम्बन्धी व्यवस्था छ । त्यसैलाई टेकेर आयोगले ‘मौन अवधिमा पालना गर्नुपर्ने आचरण’ शीर्षकमा १८ बुँदे निर्देशन जारी गरेको छ । 

ऐनको उपदफा ३ मा ‘आयोगले दिएको आदेशबमोजिम कारबाही नरोक्ने वा बदर नगर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई १ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ ।

उपदफा २ मा निर्वाचन उल्लंघन सम्बन्धी उजुरीको छानबिनका क्रममा ‘जाँचबुझ एवं अनुगमन गर्दा कसैबाट आचारसंहिता पालना नभएको वा उल्लंघन भएको देखिए त्यस्तो कार्य तुरुन्त रोक्न वा बदर गर्नका लागि आयोगले सम्बन्धित राजनीतिक दल, उम्मेदवार, संस्था, पदाधिकारी वा निकायलाई आदेश दिने’ उल्लेख छ । 

मौन अवधिमा के गर्न पाइँदैन ?

मौन अवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अरू कुनै पनि माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोस्ट वा सेयर गर्न र गराउन पाइने छैन । 

निर्वाचन आयोगका अनुसार निर्वाचन प्रचार लगायत कुनै पनि छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, गोष्ठी गर्न र  मतदानस्थलको तीन सय मिटर वरिपरि राजनीतिक दल तथा उम्मेदवारका प्रचार सामग्री राख्न पाइने छैन् । 

मतदानका दिन के गर्न पाइँदैन ?

मतदानका दिन शुक्रबार राजनीतिक दल, उम्मेदवार तथा दलका भ्रातृ संगठन वा सम्बन्धित व्यक्तिले निर्वाचन चिह्न वा मत संकेत भएको पहिरन वा ब्याज लगाउन पाइने छैन । 

उम्मेदवारको पहिचान देखिने सांकेतिक पोसाक, वस्तु लगाउन, बोक्न र देखाउन पनि नपाइने आयोगले जनाएको छ ।  कुनै पनि सवारी प्रयोग गरी आउजाउ गर्न वा कसैलाई लैजान वा ल्याउन पाइने छैन । 

यस्तै सात महिनाभन्दा बढीकी गर्भवती, सुत्केरी, आफ्नै बच्चा बोकेकी महिला, किरियापुत्री, शारीरिक रूपले अशक्त वा अपांगता भएका व्यक्ति, हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिक जस्ता मतदाताका लागि भने निर्वाचन अधिकृतले अनुमति दिएको सवारी प्रयोग गर्न पाउने छन् । 

मतदान गर्न जाँदा प्रज्ज्वलनशील ठोस वा तरल पदार्थ, मोबाइल, क्यामेरा साथमा लिएर जान पाइने छैन । नशालु पदार्थ, मादक पदार्थ सेवन गरेर मतदानमा जान नपाइने निर्देशिकामा उल्लेख छ । 

त्यस्तै मतदातालाई मतदान गर्न जान वा मतदान गर्नबाट वञ्चित गराउने अभिप्रायले झूटा अफवाह, भ्रामक समाचार फैलाउन वा कुनै अवरोध गर्न वा गराउन पाइने छैन् । 

मतदाता प्रभावित पार्न दल तथा उम्मेदवारको निर्वाचन चिह्न, झन्डा वा कुनै संकेत अंकित कपडा, टिसर्ट, ज्याकेट, गम्छा, टोपी वा क्याप भेस्ट, लोगो, म्याच, मास्क, स्टिकर लगाउन वा झोला बोक्न पनि रोक लगाइएको छ । 

यस्तै मतदान गर्न जाँदा मतदाताको शरीरको कुनै भागमा बनाइएको उम्मेदवारको फोटो, दल वा उम्मेदवारको निर्वाचन चिह्न वा झन्डा अंकित ट्याटु प्रदर्शन गर्न पाइने छैन  भने कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबुक, मेसेन्जर, ट्वीटर, भाइबर, युट्युब, इन्स्टाग्रामलगायतका सञ्जाल प्रयोग गरी तथ्यहीन सामग्री सम्प्रेषण गर्न पनि नपाइने आयोगले जनाएको छ ।