काठमाडौं / निर्वाचन आयोगले बढी मतदाता भएका १७ जिल्लामा केन्द्रीय अनुगमन टोली परिचालन गरेको छ । 

उम्मेदवारले गम्भीर रूपमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको पाइए तत्काल उम्मेदवारी खारेज गर्ने गरि अख्तियार टोलीलाई परिचालन गरिएको हो ।

OM Sai Pathibhara Hospital

विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिवको नेतृत्वमा सो टोली खटाएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताएका छन् ।

शनिबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको व्यवस्थापकीय तयारी भइसकेकाले आचारसंहिता कार्यान्वयनको अनुगमन गरि छानविन गर्न अख्तियारलाई निर्देशन दिएका छन् । 

उनले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय रूपमा सम्पन्न गर्नेका लागि आग्रह/पूर्वाग्रह नराखी कानुनअनुसार प्रभावकारी अनुगमन गर्न निर्देशन समेत दिएका थिए । 

टोलीले आचारसंहिता विपरीत दल र उम्मेदवारले झण्डा र गाडी प्रयोग गरे कारबाही गर्न सक्ने आयोगले जनाएको छ । 

टोलीले अनधिकृत सामानको ओसारपसार वा रकम वितरण गरेको पाइएमा कब्जामा लिएर तत्काल कारबाही गर्ने भएको छ ।
कुनै समस्या परि आएको अवस्थामा आयोगलाई तत्काल जानकारी गराउन पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले बताएका छन् ।