सुनसरी / सुनसरी जिल्लाको रामधुनी नगरपालिका वडा नम्बर ६ को वडाध्यक्ष उम्मेदवार गणेशबहादुर पौडेल रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । नेपाली कांग्रेसबाट टिकट नदिएपछि बागी उठेका पौडेल आज बिहान मृत अवस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सञ्जय सिंह थापाले घर नजिकैको रुखमा झुन्डिरहेको अवस्थामा फेला परेको बताए । उनले मृतक पौडेलले आत्महत्या गरेको हुन सक्ने दाबी गरे ।

यता मृतककी श्रीमती विमला पौडेलले भने उम्मेदवारी फिर्ता लिन बारम्बार धम्की आउने गरेको र त्यसैको कारण यस्तो घटना घटेको बताइन् । नेपाली कांग्रेसबाट उक्त वडामा वडाध्यक्ष उठेका आधिकारिक उम्मेदवार अनिष कार्कीका खास मान्छे विनोद भुजेलले उम्मेदवारी फिर्ता लिन बारम्बार धम्की दिने गरेको मृतक पौडेलको परिवारका सदस्यहरूको बताउँछन् । मेगा बैंक इनरुवाको सेक्युरिटी गार्डको काम गर्ने भुजेलले बागी उम्मेदवार पौडेललाई चुनाव छाड नत्र जे पनि हुन सक्छ भनेर बारम्बार धम्की दिने गरेको परिवारका सदस्यहरूको भनाइ छ ।