झापा / स्थानीय तह सदस्य निर्वाचन २०७९ मा कुल उम्मेदवारको २४ प्रतिशत मात्र युवाहरूको उम्मेदवारी परेको छ । २१ देखि ३५ वर्ष उमेर समूहका ३५ हजार २६७ युवाले उम्मेदवारी दिएको आयोगको तथ्याङ्क छ ।

वैशाख ३० गते हुने निर्वाचनका लागि कुल १ लाख ४५ हजार १० जनाले उम्मेदवारी दिएका छन् । त्यसमध्ये २१ देखि ३५ वर्ष उमेर समूहका पुरुष १८ हजार ७८० र महिला १६ हजार ४८७ ले उम्मेदवारी  दिएका हुन् । पुरुषको एकल प्रतिशत १२.९५ छ भने महिलाको एकल ११.३६ प्रतिशत हुन्छ ।

OM Sai Pathibhara Hospital

त्यस्तै, ३६ देखि ५० वर्ष उमेर समूहमा उम्मेदवारको संख्या सबैभन्दा बढी छ । सो उमेर समूहको पुरुषमा ३९ हजार ६६९ र महिला २७ हजार ४९३ जना उम्मेदवार हुनुहुन्छ । दुवैलाई जोड्दा ६७ हजार १६२ हुन्छ । प्रतिशतमा यो ४६ हो । पुरुषको प्रतिशत २७ हो भने महिलाको मात्र प्रतिशत १८.९५ हो ।

सोहीअनुसार ५१ देखि ६५ वर्ष उमेर समूहको उम्मेदवार संख्यामा पुरुष २६ हजार ५१५ र महिला १० हजार ५३९ छ । दुवै जोड्दा यो संख्या ३७ हजार ५४ हुन्छ । प्रतिशतमा यो २५.५५ हो । पुरुषको मात्र १८ प्रतिशत हो भने महिलाको प्रतिशत ७ हो ।

त्यस्तै, ६५ भन्दा माथि उमेर समूहका उम्मेदवारको संख्या ५ हजार ५२७ छ । यसमा पुरुष ४ हजार ३५० र महिला उम्मेदवार संख्या १ हजार १७७ छ । यसलाई प्रतिशतमा हेर्दा ३.८१ हुन्छ । त्यस्तै, परुषको मात्र प्रतिशत २.९९ हो भने महिलाको प्रतिशत ०.८१ छ ।

निर्वाचन आयोग अनुसार प्रदेश १ मा कुल २१ हजार ५२२ जनाको उम्मेदवारी परेको छ । त्यस्तै, मधेस प्रदेशमा ४० हजार ९२४ जनाको उम्मेदवारी परेको छ । बागमती प्रदेशमा २२ हजार ६६५, गण्डकी प्रदेशमा १२ हजार ९, लुम्बिनी प्रदेशमा २२ हजार ४२६, कर्णाली प्रदेशमा १२ हजार ५९६ र सुदूरपश्चिम प्रदेशमा १२ हजार ८६८ जनाको उम्मेदवारी परेको छ ।

प्रदेश १ को नगर प्रमुखमा पुरुषबाट ३४८ र महिलाको २७ गरी ३७५ जनाको उम्मेदवारी परेको छ । गाउँपालिका अध्यक्षमा पुरुष ४२६ र महिला २६ गरी जम्मा ४५६ जनाको उम्मेदवारी परेको छ । 

नगर उपप्रमुखमा पुरुष ८० र महिला २०९ गरी २८९ जनाको उम्मेदवारी परेको छ । त्यस्तै, सो प्रदेशबाट वडा अध्यक्षमा पुरुष ४ हजार ६०५ र महिला १३६ गरी ४ हजार ७४१ जनाले उम्मेदवारी दिएका छन् । 

त्यस्तै, सुदूरपश्चिम प्रदेशबाट प्रमुखमा पुरुष १८९ र महिला १३ गरी २०२ जनाको उम्मेदवारी परेको छ भने अध्यक्ष पदमा पुरुष २२५ र महिला ५ गरी २३० जनाको उम्मेदवारी परेको देखिन्छ । 

उपप्रमुखमा पुरुष ३२ र महिला १२७ गरी १५९ जना, उपाध्यक्षमा पुरुष ४३ र महिला १३५ गरी १७८, वडा अध्यक्षमा पुरुष २ हजार ७२२ र महिला ७६ गरी २ हजार ७९८ जनाको उम्मेदवारी परेको छ ।