बिर्तामोड / वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन नजिकिएसँगै झापाका तीन पालीका पृथक चुनावी गठबन्धनका कारण यतिबेला चर्चामा छन् ।

भिन्न चुनावी गठबन्धन बनेको दमक नगरपालिका, कचनकवल गाउँपालिका र कनकाई नगरपालिकामा दलहरूको प्रतिस्पर्धा रोचक बन्दैछ । 

OM Sai Pathibhara Hospital

सत्ता गठबन्धका मुख्य दुई दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गरेका छन् । 

त्यस्तै कांग्रेस नेता कृष्ण सिटौला र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको निर्वाचन क्षेत्रको कचनकवल गाउँपालिकामा कांग्रेस र माओवादीले एमालेसँग गठबन्धन गरेका छन् भने कनकाई नगरपालिकामा कांग्रेस र एमालेबाहेकका दलको चुनावी गठबन्धन बनेको छ ।

नेपालकै होचो स्थानका रूपमा परिचित कचनकवलमा २०७४ को स्थानीय तह निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष जितेको राप्रपा आसन्न निर्वाचनमा एक्लै चुनावी मैदानमा उत्रिएको छ । 

कचनकवलमा कांग्रेसबाट अध्यक्षमा कालेन्द्र प्रसादसिंह राजवंशी र उपाध्यक्षमा एमालेबाट नवराज भट्टराई उम्मेदवार बनेका छन् । दुवै उम्मेदवार संयुक्त रूपमा चुनावी प्रचारका लागि घरदैलोमा हिँडिरहेका छन् । सो पालिकामा राप्रपाबाट अध्यक्षमा अन्जरा आलम र उपाध्यक्षमा निमसरी राजवंशी उम्मेदवार बनेका छन् । 

यस्तै दमक नगरपालिकाको नगरप्रमुखमा राप्रपाका राम थापा र उपप्रमुखमा कांग्रेसकी रेगिना भट्टराई उम्मेदवार छन् । एमाले भने एक्लै चुनावी मैदानमा छ । 

एमालेले गीता अधिकारीलाई प्रमुख र अम्बिका खनाललाई उपप्रमुखमा उम्मेदवार बनाएको छ । राप्रपासहितको गठबन्धनमा कांग्रेस र  माओवादी केन्द्र संलग्न छ । जनता समाजवादी पार्टीले अलग्गै उम्मेदवार खडा गरेको छ ।

यसैगरी कनकाई नगरपालिकामा कांग्रेस र एमालेबाहेकका दलको चुनावी गठबन्धन बनेको छ । कांग्रेस र एमाले एक्लाएक्लै चुनावी मैदानमा छन् । ०७४ को स्थानीय तह निर्वाचनमा कनकाईमा प्रमुख र उपप्रमुखमा एमालेका राजेन्द्र पोखरेल र मञ्जु प्रसाईँ विजयी भएका थिए । एमालेले दुवैलाई सोही पदमा दोहोर्‍याएको छ । 

कांग्रेसले प्रमुखमा रुद्रप्रसाद चिमरिया र उपप्रमुखमा आशा शर्मा शिवाकोटीलाई उम्मेदवार बनाएको छ । कांग्रेसका बागी उम्मेदवार शेरबहादुर थापाले कांग्रेस र एमालेबाहेकका चार दलको गठबन्धन बनाएका छन् । 

थापाको गठबन्धनमा नेकपा (एकीकृत समाजवादी), माओवादी केन्द्र र जनता समाजवादी पार्टी सामेल छ । गठबन्धनबाट प्रमुखमा थापा र उपप्रमुखमा एकीकृत समाजवादीकी अम्बिका उप्रेती उम्मेदवार छन् भने विवेकशील साझा पार्टीले भीम अधिकारीलाई उम्मेदवार बनाएको छ ।

बलियो शक्तिलाई हराएर स्थानीय तहको नेतृत्व लिन मात्र होइन, ६ महिनापछि हुने संघको निर्वाचनमा सुरक्षित बन्ने ओली, सिटौला र लिङ्देनको रणनीतिक योजनाले यस्तो तालमेल बनेको हो ।