काठमाडौं / स्थानीय तह निर्वाचनको मतदानको दिन (वैशााख ३० गते) सवारी साधन चलाउन नपाइने भएको छ । निर्वाचन आयोगले पास विनाका सवारी साधन चुनावका दिन चलाउन नदिन सरकारलाई आग्रह गरेको छ ।

आयोगले जिल्ला निर्वाचन अधिकृतको कार्यालयबाट पास लिएर मात्र सवारीसाधन चलाउन मिल्ने निर्देशन दिएको छ । 

OM Sai Pathibhara Hospital

आयोगका अनुसार एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दमकल, दूरसञ्चार सेवा, शव बाहन, अस्पताल सेवा तथा विद्युत सेवा जस्ता अत्यावश्यक सेवा र नम्बर प्लेटमा सिडि उल्लेख भएको कूटनीतिक नियोगको सवारी साधनले अनुमति पत्र  लिनु पर्ने छैन ।

आयोगले शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई पनि मतदान केन्द्रसम्म पुग्न सवारीको प्रयोग गर्न पाउने गरी मापदण्ड समेत तय गरेको छ ।

अनुमति पाएको सवारी पासमा त्यस्ता व्यक्तिबाहेक एकाघरको अर्का एक जना साथीले मतदान केन्द्रसम्म जान आउन पाउने व्यवस्था छ।

अन्तर्राष्ट्रिय हवाई उडानको माध्यमबाट यात्रा गर्ने यात्रुले पासपोर्ट, भिसा र हवाई टिकटको माध्यमबाट विमानस्थल सम्म र विमानस्थलदेखि बासस्थान सम्म आवागमन गर्न दिने भएको छ ।

त्यस्तै , अन्य सवारी साधनहरूलाई पनि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले अनुमति दिने गरी अधिकार दिइएको छ । 

पत्रकारको हकमा काठमाडौं उपत्यकामा सूचना विभागको कार्डका आधारमा प्रमुख जिल्ला अधिकारीले अनुमतिपत्र जारी गर्नेछ ।

मतदानका दिन दैनिक उपभोगका वस्तु बोक्ने तथा अत्यावश्यक सवारी साधनको लागि अनुमति लिनु नपर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् । 

आयोगले भारत र चीनसँग जोडिएका सीमा नाका ३ दिन बन्द गर्न पनि सरकारलाई पत्र पठाएको छ ।