हल्दिबारी /  नेकपा माओवादी केन्द्रका तर्फबाट हल्दिबारी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार भवानीप्रसाद दंगालले गाउँपालिकालाई भ्रष्टाचार मुक्त हल्दिबारी बनाउने प्रतिबद्धता जनाएका छन्  । 

विहिबार हल्दिबारीको ढडुवा बजारमा आयोजित कोणसभालाई सम्बोधन गर्दै दङ्गालले आफू स्थानीय तहको निर्वाचनमा अध्यक्ष पदमा निर्वाचित भए गाउँपालिकालाई भ्रष्टाचार मुक्त हल्दिबारी बनाउने प्रतिबद्धता जनाएका हुन्  । 

माओवादी केन्द्रका उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गर्दै उनले आफूहरूको स्थानीय सरकार बन्यो भने त्यसको भोलिपल्ट बाटै पालिकालाई भ्रष्टाचारमुक्त बनाई देशभरमा नमूना पालिका बनाउने उद्घोष गरे ।

उनले हल्दिबारीको स्थानीय सरकारले गाउँपालिकामा खानपिनमा ९२ लाख बेरुजू गरेको भन्दै खेद प्रकट गरे ।
 
‘विकासको नाममा धेरै गीतहरू गाइयो, भजन किर्तन गाइयो,’ दंगालले भने, ‘निर्वाचनको प्रचारप्रसारको अभियानमा डुलिरहँदा विकास भनेको आफ्नो घर अगाडीमात्र हुँदो रहेछ, झापा रोडबाट उत्तरमात्र हुँदो रहेछ ।’

उनले विगतको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरू कुस्ती खेल्न व्यस्त रहेकाले गाउँको विकास नभएको उनले आरोप लगाए ।

जनप्रतिनिधिहरूले कुस्ती खेलेर जनताको करबाट बनाइएको पालिकाको ढोका फोरेको भन्दै जनताले उनीहरूलाई कुस्ती खेल्न नभई घरघरमा विकास गर्न पठाएको बताए ।