चितवन / नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूहरूको प्रतिष्पर्धा नेकपा एमाले मात्र भएको बताएका छन् । 

सत्ता गठबन्धनद्वारा बिहीबार भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले आफूहरूको प्रतिस्पर्धी र प्रतिद्वन्दी केपी ओली मात्र भएको बताएका हुन् । 

उनले भने, –‘कांग्रेसको प्रतिष्पर्धा माओवादीसँग होइन, प्रचण्डसँग होइन, एमालेको केपी ओली प्रवृत्तिसँग हो, केपी ओलीसँग हाम्रो द्धन्द छ, एमाले हाम्रो प्रतिद्वन्दी हो ।’ 

पौडेलले केपी ओलीले संसदीय प्रणालीमाथि प्रहार गरेर देशलाई प्रतिगमनतर्फ धकेलेको आरोप लगाएका छन् । केपी ओलीको कदमबाट अस्थिरतातर्फ धकेलिएको राजनीतिलाई ट्रयाकमा ल्याउन गठबन्धन आवश्यक रहेको पनि पौडेलले बताए । 

पौडेलले चितवनका बागी उम्मेदवार जगन्नाथ पौडेलमा धैर्यता नरहेको आरोप पनि लगाएका छन् । 

उनले भने, –‘मैले जगन्नाथजीलाई भेटेँ, भेटेर जुन कुरा राख्न खोजेको थिएँ, उहाँहरूमा सुन्न सक्ने धैर्यता रहेनछ, धैर्यता गुमाएपछि उहाँ छोटो कुरा गरेर जानुभयो, संवाद गर्न चाहेँ तर उहाँहरूले धैर्य राख्न सक्नुभएन उहाँहरु चाँडै उठेर जानुभयो, तर्क सामना गर्न तयार हुनुहुन्न जस्तो लाग्यो ।’