काठमाडौँ / भारतले नेपालका लागि नयाँ राजदूतमा नवीन श्रीवास्तवलाई प्रस्ताव गरेको छ ।

चीन विज्ञका रूपमा परिचित कूटनीतिज्ञ श्रीवास्तवको नाममा भारतीय विदेश मन्त्रालयले नेपालको परराष्ट्र मन्त्रालयसँग सहमति मागेको हो ।

नेपालका लागि राजदूत भएकै बेला निवर्तमान राजदूत विनयमोहन क्वात्रा भारतीय विदेश सचिव नियुक्त भएपछि रिक्त रहेको नेपालस्थित राजदूतावासमा श्रीवास्तवलाई पठाउन लागिएको हो।

भारतले श्रीवास्तवको नाम नेपालको परराष्ट्र मन्त्रालयमा पठाइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनको नाम नेपालबाट स्वीकृत भएसँगै उनी राजदूतको जिम्मेवारी सम्हाल्न नेपाल आउने छन्। 

भारतीय प्रधानमन्त्री मोदीले बुद्ध जयन्तीको अवसरमा जेठ २ गते लुम्बिनी भ्रमण गर्न लागेकाले त्यसभन्दा पहिले नै उनी राजदूतको जिम्मेवारी सम्हाल्न नेपाल आउने छन्।

भारतीय विदेश मन्त्रालयको पूर्वी एशिया डिभिजनको प्रमुखका रूपमा कार्यरत श्रीवास्तव चीन मामिलाका जानकार मानिन्छन्।

सन् २०२० मा भारत–चीन सीमा क्षेत्रको लाइन अफ एक्च्युल कन्ट्रोल (एलओसी)मा दुई देशका सैनिकबीच विवादको अवस्था सिर्जना हुँदा चीनसँग कूटनीतिक तथा सैन्य संवादका लागि श्रीवास्तवले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। 

भारतीय विदेश सेवामा सन् १९९३ मा प्रवेश गरेका श्रीवास्तव चीनको संघाइमा महावाणिज्यदूत र कम्बोडियाका लागि राजदूत भइसकेका छन्।