रूकुम / वाइसिएलका कार्यकर्ताहरूले बिहीबार बिहान रूकुम पश्चिमको एक प्रहरी चौकी तोडफोड गरेका छन् । उनीहरूले नुवाकोट प्रहरी चौकीमा आज तोडफोड र आक्रमण गरेका हुन् । केही समय अघि कांग्रेस र माओवादीका कार्यकर्ताबीच झडप भएको थियो ।
कांग्रेस कार्यकर्ता चौकीभित्र छिरेपछि वाइसिएल कार्यकर्ताले उनीहरूलाई बाहिर निकाल्न भनेका थिए । त्रिवेणी वडा नम्बर ९ नुवाकोटस्थित चौकीमा कांग्रेस कार्यकर्ता छिरेपछि वाइसिएलले ढुंगामुढा गरेका हुन् । कांग्रेसका १३ जना कार्यकर्ता चौकीमा पुगेका थिए । उनीहरूलाई वाइसिएल कार्यकर्ताले लखेटेका थिए । कांग्रेस कार्यकर्तालाई प्रहरीले संरक्षण गरेको भन्दै वाइसिएलले प्रहरी चौकी नै तोडफोड गरेका छन् । त्रिवेणी वडा नम्बर ९ को वडाध्यक्ष उम्मेदवारमा माओवादीबाट वाइसिएल जिल्ला अध्यक्ष जनक विश्वकर्मा छन् ।
बुधबार दिउँसो पनि यहाँ कांग्रेस र माओवादी कार्यकर्ताबीच तनाव भएको थियो। कांग्रेसबाट वडाध्यक्ष उम्मेदवार हरिबहादुर खड्का छन् । माओवादीले कांग्रेसका उम्मेदवार चढ्ने गाडीका सीसा फुटाएको र झन्डा च्यातेको आरोप कांग्रेसले लगाएको छ ।






































