रुकुम / आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई लक्षित गर्दै चुनाब प्रचार प्रसारमा हिँडेका दुई राजनैतिक दल बिच बिहीबार बिहान झडप भएको छ । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर -९ मा कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको हो ।
झडपका क्रममा कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार अमरसिंह खड्का चढेको रा १ च १२६२ नम्बरको गाडीमा तोडफोड भएको छ । कांग्रेस कार्यकर्ताले माओवादीका पोस्टर र झण्डा फालेपछि भएको विवादले झडप भएको प्रहरीले जनाएको छ ।
नेपाली कांग्रेसले माओवादीको आक्रमणबाट बच्न प्रहरी चौकीमा गएका आफ्ना कार्यकर्ता प्रहरीकै अघि कुटिएको आरोप लगाएको छ । बुधबारमात्रै तरुण दलका कार्यकर्ताहरूले वाईसीएल कार्यकर्ताको मोटरसाइकल रोकेर अभद्र व्यवहार गरेका थिए । त्यसै कारण दुई पार्टीका कार्यकर्ताबीच विवाद भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख, प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिएका छन् । ।
कांग्रेस कार्यकर्ताले वडा कार्यालय र माओवादीका स्थानीय नेता चुडामणि बस्नेत र डिलबहादुर विकको घरमा तोडफोड गरेको, केराका बोट काटिदिएको, घरबाट लत्ताकपडा फालिदिएको माओवादीको आरोप छ ।
कांग्रेस कार्यकर्ताले माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार जनक बिक, स्थानीय नेता बस्नेत र अर्का एक व्यापारीको मोटरसाइकल तोडफोड गरिदिएका थिए । विवाद बढ्दै गएपछि दुवै पक्षका बीच हात हालाहाल समेत भएको हो ।






































